
काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समसामयिक तथा राजनीतिक विषयमा बोल्नुहुदै देशमा प्रजातन्त्र नै संकटमा पर्ने देखिएपनि आफूहरु सर्वोच्च अदालतमा गएको बताएका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम काँग्रेसको नेतृत्वमा अन्य विपक्षी गठबन्धनको बहुमत प्रतिनिधिसभा सांसदहरुको हस्ताक्षरमा सरकार गठनका लागि राष्ट्रपति समक्ष गरिएको दाबी बदर हुनु अलोकतान्त्रिक गतिविधि भएको पुनः दोहार्याएक हुन् ।
‘विपक्षी गठबन्धनका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका केही नेताहरुका सम्बन्धमा निर्दलीय भन्ने विषय कुरा उठेको छ तर म एकचोटी उनीहरुलाई संविधान पढ्न आग्रह गर्छु, संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधिसभाका कुनै पनि सांसदहरु भनेर लेखिए बमोजिम हामीले सरकार गठनको दाबी गरेका थियौं’, देउवाले बताए ।
अहिले कोरोना महामारीका कारण सडकमा हुने गर्ने कुनै विरोध कार्यक्रमहरु गर्न नसकिएको उनले बताए । प्रजातन्त्र, लोकतन्त्र खतरामा परेको र यसले राजनीतिक संकट थप निम्त्याएको बताउँदै उनले यसको रक्षामा लागि आमसञ्चारले पनि आवश्यक भूमिका खेल्नुपर्ने धारणा काँग्रेस सभापति देउवाले राखे ।