२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १४ जेठ । विराटनगरस्थित रेडियो नागरिकका प्रबन्ध निर्देशक तथा ग्रामीण खबर डटकमका अध्यक्ष अरबिन्द मेहता सञ्चारकर्ममै तल्लीन रहँदा कोरोना भाइरसबाट संक्रमित बने । पाठक तथा श्रोतालाई सु–सूचित गराउने कार्यमा जुटिइरहँदा कतिबेला उनलाई कडा मानिएको दोस्रो लहरको कोरोना भाइरसले समात्यो पत्तै भएन । तर जब उनले आफूमा केही लक्षण पाए, ढिला नगरी उनी पिसिआर जाँचका लागि प्रादेशिक ल्याब गए । परीक्षणपछि रिपोर्ट पोजिटिभ आउँदा उनी आत्तिएनन् बरु कोरोनाविरुद्धको लडाइँमा सशक्त भएर होमिने अठोट मनमा लिए ।

सञ्चारकर्मी मेहतासँगै कोरोना संक्रमित हुनेमा थिइन्, उनकी श्रीमती अनि सोही रेडियोमा कार्यरत दुई प्राविधिक कर्मचारी । सञ्चारकर्मी मेहताकै सुझावमा दुवै प्राविधिकले कोभिड टेस्ट गराएका थिए । त्यससँगै उनकी श्रीमतीको पनि परीक्षण भयो । चारै जनामा कोरोना पुष्टि भएपछि भने सञ्चारकर्म अवरुद्ध नै हुनपुग्यो । ज्यान रहे अरुलाई बचाउँला भन्ने हेतुले उनीहरुमध्ये तीन जना होम आइसोलेसनमा बसे । एक जना भने विराटनगर महानगरपालिकाले सञ्चालन गरेको संस्थागत आइसोलेसनमा बसे ।

होम आइसोलेसनमा बस्नेमध्येका एक थिए, मेहता । आफूमात्र नभएर आफ्नी श्रीमतीलाई पनि कोरोनाविरुद्धको लडाइँमा साथ दिनुपर्ने बाध्यता मेहतामा थियो । साथै आफ्ना दुई कर्मचारीलाई पनि आत्मबल बलियो बनाउँदै कोरोना जित्ने अभियानमा सहयोग गर्ने जिम्मेवारी मेहताले लिएका थिए ।

अघिल्लो लहरमा कोरोना संक्रमित भइ अनुभव संगालेका साथीभाइबाट पाएको जानकारीअनुसार मेहताको लडाइँ सुरु भयो । देवानगञ्ज–६ घर भइ विराटनगर कार्यालय भएकै घरमा बसेका मेहता दम्पत्तीले एक–अर्कालाई सर–सहयोग गर्दै कोभिडविरुद्धको अभियान थालेका थिए । ‘ढुंगोको भर माटोलाई, माटोको भर ढुंगोलाई’ भनेजस्तै एक–अर्काको स्वास्थ्यअवस्था बुझ्दै र हौसला प्रदान गर्दै थिए । बीच–बीचमा उतारचढाव भने आइरह्यो । कहिले शरीर कमजोर भयो त कहिले आत्मबल । दुवैलाई सन्तुलन बनाउँदै जीवन बचाउने अभियान जारी थियो उनीहरुको ।

पोजेटिभ रिपोर्ट आउनुभन्दा पाँच दिनअगाडि नै सेल्फ आइसोलेट

पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा लक्षण देखिएका तथा कोरोना परीक्षण गराएकाहरु परिवारमा घुलमेल गरिरहेको, खुलेआम डुलिरहेको अनि अरुसँग भेटघाट गरिरहेको समाचार आउनेगरेका छन् । तर मेहताले भने लक्षण सुरु भएको महसुस गर्नेबित्तिकै उनी सेल्फ आइसोलेसनमा बसे । कोठामा सीमित भएर, भेटघाट बन्द गरेर, सुरक्षा सावधानी अपनाइरहे । लक्षण प्रष्ट देखिएपछि भने पति–पत्नि दुवैले पिसिआर परीक्षण गर्ने मनसाय बनाए । परीक्षण गराएपछि पनि दुवैजना पुनः कोठामै सीमित भए । दुवैले पिसिआर नेगेटिभ आइदियोस् भन्ने कामना गरे ।

तर, रिपोर्ट पोजेटिभ आउँदा पनि आफूमा निराशापन भरेनन् । दुवैले आत्मबल बढाएर कोरोना जित्ने बाचा गरे । सुरुमा उनीहरुलाई कोरोनाको मुख्य लक्षण मानिएको उच्च ज्वरोको समस्या देखिएन तर टाउको भारी हुने, शरीर दुख्ने, पिसाब पोल्ने, घाँटी सुक्नेलगायतका लक्षण देखिएको थियो ।

त्यसपछि पानीको मात्रा बढाए, आयुर्वेदिक औषधि सेवन गर्न थाले, भिटामिन र प्रोटिनयुक्त खानुकरा बढाए, निद्रा लाग्ने औषधि पनि लिए । तालिकाअनुसार खानेकुरा खाए । भान्सामा पाइने औषधीय गुण भएका सामग्रीहरु जस्तैः हर्दी, दूध, जिरापानी, तुलसाका पातलगायत कुराहरु खाए । यसैले उक्त समस्याहरु घट्दै गए । तर मुख्य कुराचाहिँ आत्मबल बलियो बनाउनु थियो । मानसिक रुपमा बलियो बन्नका लागि उनीहरुले सामाजिक सञ्जाल फेसबुक बन्द गरे । समाचार सुन्न छोडे । तर युटुब भने चलाए । युटुबमा पुराना गीत सुने, हास्य–व्यंग्य भिडियोहरु हेरे, भजन सुनेर आफूलाई भुलाए । जतिसक्दो आफ्नो दिमागबाट कोरोना भन्ने शब्द र त्यसको पीडालाई डिलेट गर्ने मनसाय बनाए । आशा, भरोसा, खुसी भर्नतिर ध्याउन्न भए ।

मृत्युको समाचारका कारण केही प्रतिशत डिप्रेसनमा

कोरोनाविरुद्धको लडाइँमा होमिइरहँदाका मेहतालाई निकै गाह्रो पनि भयो । शारीरिक रुपमा थोरै तथा मानसिक रुपमा धेरै कमजोर भए उनी । विशेषगरी सञ्चारमाध्यममा आउने संक्रमितको मृत्यु, अस्पतालमा बेड अभाव, अक्सिजन अभाव, खोपको दोस्रो डोज नपाएको अवस्था, भनेजत्ति सुविधा नपाएको भन्दै चिकित्सकको टोली आन्दोलित, किटको अभावमा स्वाब संकलन बन्द, कोरोनाको स्थिति भयावहलगायतको समाचार फेसबुकमा पढ्दा, रेडियोमा सुन्दा उनी केही प्रतिशतसम्म डिप्रेसनमै पुगे । कमसेकम पाँच प्रतिशतसम्म डिप्रेसनमै पुगेको उनी सुनाउँछन् ।

त्यसबाहेक आफन्त तथा शुभचिन्तकले फोनमा फलानो पनि मर्यो भने सूचना दिइरहँदा पनि उनी मानसिक रुपमा कमजोर भएका थिए । ‘सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा मृत्युको समाचार आउँदा वा आफन्तले अरुको मृत्युको खबर सुनाउँदा बढी मानसिक तनाव हुन्थ्यो’, उनले भने, ‘भरिसक्दो कसैले यस्तो कुरा नगरोस् भन्ने हुन्थ्यो । मैले मृत्युको समाचारबाट डराएरै फेसबुक बन्द गरेँ, सञ्चारमाध्यम सुन्न छोडेँ र कसैले मृत्युको सूचना दिइरहेको छ भने उनको कुरा डाइभर्ट गरेर अर्कैतिर मोडिदिन्थेँ ।’

समाचारको हेडलाइनमा यति मान्छे मरे भन्दा आफू पनि त्यसमै पर्ने हो कि भन्ने त्रास उनमा थियो । आङ नै सिरिंग हुनेगरी मृत्युको खबरले आँधी ल्याउँथ्यो उनको मनमा । ‘संक्रमित आफैँ पनि मुत्युलाई जित्न संघर्षरत हुन्छ । त्यस्तो बेलामा आउने मृत्युको समाचारले झन्डै मेरो पनि प्राण खोस्यो’, उनले भने, ‘हामीले फेसबुकमा मृतकको फोटो राख्दै श्रदाञ्जली दिन्छौँ तर त्यसले संक्रमितमा के बित्छ भन्ने कुराको हामी हेक्का राख्न सक्दैनौँ ।’

श्रद्धाञ्जली दिने कुरा पछि पनि गर्न सकिने बताउँदै उनी बरु मृतकका आफन्तलाई फोन गरेर समवेदना प्रकट गर्ने तथा सकेको सहयोग गर्नुपर्ने बताउँछन् । यसो गर्दा जस्तो विकराल रुप कोरोनाबाट सिर्जित भएपनि संक्रमितमा आत्मविश्वास रहिरहने र डर–त्रासले जरा गाड्न नसक्ने उनको सुझाव छ ।

पुष्टि भएको पहिलो एक साता त्रासदी

कोरोना संक्रमण हुनअगाडि उनले सतर्कता अपनाएकै थिए । महामारीमा आफूपनि संक्रमित हुने डरका कारण रोग प्रतिरोधात्मक क्षमता अब्बल बनाउन काजु, हाडे बदामलगायत ड्राइ फुड्स सेवन गरिरहेका थिए । तर, कोरोना पुष्टि भएपछि सुरुवाती साता मेहतालाई गाह्रो बनायो । मनमा डर तथा तालिका पूर्ण रुपमा बनाइ नसक्दा पनि गाह्रो अवस्था आइपर्यो । त्यतिमात्र नभएर शारीरिक रुपमा पनि कमजोर फिल भयो । कमजोर भएका कारण कसैसँग कुरा गर्न झर्को लाग्ने, काम गर्न मन नहुने, काम गर्दा कमजोरीले तत्कालै गलाउने, मुटुको धड्कनमा तीब्रतालगायत कारण सुरुवाती साता उनलाई गाह्रो भयो ।

यस्ता समस्याबाट मुक्त हुन उनले गाईको घिउलगायत घरायसी औषधिहरु, देवानगञ्ज गाउँपालिकाले दिएका केही आयुर्वेद औषधिहरु पनि खाए । उनले आमलकी चूर्ण, सितोपदाली चूर्ण, अश्वगन्धा चूर्ण, गिलोयी इम्युनलगायत आयुर्वेदिक औषधि खाए । त्यसबाहेक उनले मह पनि सेवन गरे । पहिलो सातामा कफसिरफ पनि उनले सेवन गरे । त्यतिबेला कफरिफले केही हदसम्म काम गरेपनि समय बित्दै जाँदा उनलाई त्यसले झन् कमजोर बनायो । ड्राइ फुड्स सेवन गर्ने कार्यलाई निरन्तरता दिइरहे ।

भिटामिन सी, डी तथा जिङ्कयुक्त खानेकुरा खान थाले । फलफूलमा स्याउ सेवन गरे, अंगुरलाई तातोपानीमा तताएर खाए । दूध र बेसार तथा चेवनपरासलगायत तागतिला खाने कुराहरु सेवन गरे । रोग प्रतिरोधात्मक प्रणाली बलियो बनाउने औषधिमुलो सेवन गरे । शरीर पनि बलियो बनाउँदै लगे । अनि सबैभन्दा ठूलो कुरा आत्मबल बलियो बनाउनु थियो । यसैले जस्तोसुकै शारीरिक कमजोरीहरु आइपरे पनि सबै ठिक हुन्छ भन्ने शुत्रका साथ मानसिक रुपमा बलियो बनेर कोभिड–१९ विरुद्धको लडाइँमा लागिरहे ।

स्वास्थ्यलाई ध्यान दिनु महत्वपूर्ण

अघिल्लो वर्षबाट सुरु भएको कोरोना महामारीको सुरुवातमा कोरोनालाई गम्भीर रुपमा लिएपनि पछिल्लो केही समययता मानिसहरुले सामान्य रुपमै लिएको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) तथा सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालनामा कमी आएको छ ।

यस्तै, लक्षण देखिएको अवस्थामा पनि स्वास्थ्य मापदण्ड पालना नगरी घरमै बस्न खोज्ने अनि परीक्षण गर्न नचाहने गरिरहेको पाइन्छ । अझ कसैले त लक्षण देखिँदा पनि परिवारसँग घुलमिल हुने, बाहिर निस्किने, अरुसँग भेटघाट गर्ने गरेको पाइन्छ । तर कोरोना संक्रमित भइ कठिन परिस्थितिबाट गुज्रिएका अरबिन्द भने यसलाई सामान्य रुपमा नलिई गम्भीर रुपमा लिन आग्रह गर्छन् ।

यस्तै उनी कोरोना टेस्ट गर्दै सिटी भ्यालुबारे जानकारी लिन सुझाव दिन्छन् । कोरोना टेस्ट गर्दा मेहताको सिटी भ्यालु २७ थियो । परीक्षणका बेला आफ्नो सिटी भ्यालुबारे जानकारी लिन धेरै नै आवश्यक हुन्छ । यसले गर्दा आफ्नो शरीरमा भाइरसको लोड कति छ भन्ने थाहा हुन्छ ।

‘दोस्रो लहरको महामारीमा सबै लक्षण देखिन्छ भन्ने रहेनछ । केही लक्षण देखिएमा समयमै कोरोना परीक्षण गर्दा आफू मात्र होइन परिवारको ज्यान जोगाउन सकिन्छ’, उनले भने, ‘कोरोनाको चेन ब्रेक गर्ने सरकारको प्रयास छ । यदि हामी घरमै बसेर सेल्फ आइसोलेट गर्न सकेमा सरकारको अभियानमा थप सहयोग हुन्छ ।’

उनले संस्थागत आइसोलेस वा अस्पताल बस्दाको तुलनामा होम आइसोलेसनमा बस्नु प्रभावकारी रहेको सुनाए । अक्सिजन लेबल घट्ने वा गम्भीर अवस्थाका संक्रमितले मात्र अस्पताल जाँदा हुने उनको भनाइ छ । पारिवारिक साथ, हेरचाह तथा समय कटाउने मेलो भएका कारण पनि होम आइसोलेसन प्रभावकारी रहने बताए ।

साथीभाइ हौसला महत्वपूर्ण

संक्रमित भइ कोठामा सेल्फ आइसोलेसनमा बसेका मानिसलाई फलफूल, शब्जीतरकारी, औषधिलगायत किन्न समस्या हुने गर्छ । सम्भवतः मेहतालाई पनि त्यस्तै समस्या हुनसक्थ्यो । किनकि, कोठामा दुई जनामात्र त्यैपनि दुवै जना संक्रमित भएका कारण बाहिर निस्किन सम्भव थिएन ।

तर, यसबीचमा धेरै साथीभाइले उनलाई सहयोग गरे । कसैले औषधि ल्याइदिए, कसैले तरकारी तथा फलफूल ल्याइदिए । कसैले फोन तथा म्यासेजमार्फत स्वास्थ्य लाभको शुभकामना दिँदै हौसला दिइरहे । यसले गर्दा पनि अरबिन्दलाई कोरोना परास्त गर्न सहजता प्रदान गर्यो ।

‘साथीभाइले हौसला दिइरहँदाचाहिँ बाँच्ने आशा जाग्थ्यो, नत्र त मेरो मृत्युले मलाई पछ्याउँदै छ जस्तो फिल हुने’, उनले भने, ‘त्यसको आवश्यकता पनि पर्दोरहेछ । कसैले केही परेमा खबर गर्नु भनिदिँदा पनि एउटा छुट्टै प्रकारको आँट आउँथ्यो ।’

साथीभाइको हौसलासँगै अरबिन्दले कोरोना संक्रमण भएका बेला सरसफाइमा अति धेरै नै ध्यान दिए । सामान्य अवस्थामा भन्दा धेरै नै आफ्नो स्वास्थ्यप्रति सजगता अपनाउन थाले । बेला–बेलामा आफू बसेको कोठा निःसंक्रमण गर्ने, आफूले प्रयोग गरेका प्रत्येक कुरालाई सेनिटाइज गरे ।

यतिसम्म कि उनी आफू सुतेको ओछ्यानसमेतमा पनि सेनिटाइजर छर्किन्थे । विशेषगरी सिरानीलाई धेरै सफा गर्थे । श्वासप्रस्वाससँग प्रत्यक्ष सरोकार राख्ने हुँदा सिरानी सफा गर्नेगरेको उनी सुनाउँछन् । ‘मैले संक्रमणका बेला खानपानमा ध्यान दिएँ, मैले प्रयोग गरेका हरेक कुरामा सेनिटाइज गरेँ । माइन्ड रिफ्रेस बनाउन घरबेटीलाई सुरक्षित राख्न सावधानी अपनाएर छतमा जाने र घाम ताप्ने गरेँ । बाहिरको वातावरण हेर्दा पनि मन बहलाउन सकिँदो रहेछ,’ उनले भने ।

गाउँ-गाउँ पुगेर सचेतनामुलक कार्यक्रम

उनी १८औँ दिन कोरोनासँगको कठोर लडाइँ लडेर संक्रमणमुक्त भए । उनले जस्तो भोगे उनका लागि जीवनकै कठिन परिस्थिति थियो । यस लडाइँमा अहिले देशमा उनीमात्र नभएर पूरा विश्व होमिएको छ । विश्वले एउटा छुट्टै पाठ सिकेको छ, सचेत भएको छ । तर, ग्रामीण भेगमा अझै पनि कोरोनाका बारेमा चेतना फैसिकेको अवस्था छैन । नटेरेर होस् वा नजानेर गाउँतिर कोरोनालाई सहज रुपमा लिएको अवस्था छ । यसैले पनि ग्रामीण भेगमा मृत्यु दर बढिरहेको अवस्था छ ।

बेलामा कोरोना परीक्षण नगर्ने अनि गम्भीर अवस्था भएपछि मात्र अस्पताल सम्झने मानिसहरुको व्यवहार छ । त्यस्ता प्रकारको व्यवहारमा सुधार आओस् र संक्रमितलाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्ने उद्देश्यका साथ मेहता स्वास्थ्य सावधानी अपनाएर संक्रमितको घर–घर पुगेर सचेतनामुलक कार्यक्रम गर्न थालेका छन् ।

समुदायस्तरमा कोरोना फैलिएको देवानगञ्जको वडा नं २ र ६ का सङ्क्रमितहरुलाई आफ्ना अनुभव बाँड्दै कोरोनाविरुद्धको लडाइँ सहजै जित्ने उपाय, उनीहरुका परिवारलाई संक्रमितको हेरचाह तथा संक्रमणको चेन ब्रेक गर्ने प्रभावकारी उपायबारे स्वास्थ्यकर्मीको समन्वयमा सचेतना फैलाउने काममा जुटेका छन् । स्थानीय युवा, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीको समन्वयमा उनले गाउँका संक्रमितलाई सचेत बनाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!