विराटनगर, १६ जेठ । प्रदेश १ का विपक्षी दलहरूले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई भेटेका छन् । उनीहरूले आइतबार बिहान प्रदेश प्रमुख प्यासी निवासमा प्रदेश प्रमुखसँग भेट गरेर संसद्को बजेट अधिवेशन बोलाउनका लागि सरकारलाई सहजीकरण गर्न आग्रह गरेका हुन् ।
प्रदेश सरकारले बजेट अधिवेशन टारेर अध्यादेशबाट बजेट ल्याउन खोजेको भन्दै उनीहरूले प्रदेश प्रमुखलाई भेटेर अधिवेशन आह्वानको पहल गरिदिन आग्रह गरेका हुन् । हरेक बर्ष असार १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने व्यवस्था छ । तर सरकारले संसद अधिवेशन आह्वान गरी बजेट अघि नै पूर्वबजेट छलफल तथा नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा अहिलेसम्म त्यसो नगरेको भन्दै उनीहरूले अधिवेशन बोलाउने वातावरणका लागि प्रदेश प्रमुख प्यासीसँग आग्रह गरे ।
प्रदेश प्रमुख भेटेर फर्केका माओवादी सांसद कुलप्रसाद साम्बाले सरकारले महामारीलाई बहाना बनाएर संसद् निरन्तर छल्न खोजिरहेको बताउँदै अधिवेशन बोलाउन पहल गरिदिन प्रदेश प्रमुखलाई भेटेको जनाए । प्रदेश प्रमुखले सरकारसँग छलफल गर्ने र पहल गर्ने वचन दिएको उनले बताए ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक सुयर्माराज राईले प्रदेश प्रमुखसँग भेटघाट भएको जानकारी दिए । उनले प्रदेशमा संविधानको रक्षा र पालना गर्ने काम प्रदेश प्रमुखबाट हुने भएकोले बजेट अधिवेशनसहितका बिषयमा ध्यानाकर्षण गराइएको बताए ।
यस्तै, काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश आर्थिक नियमावली र कार्यविधि सरकारले उल्लङ्घन गरिसकेको बताउँदै संविधानको पालना गराउन सरकारलाई सजग गराउन प्रदेश प्रमुखलाई आग्रह गरेको जानकारी दिए ।
भेटघाटमा प्रतिपक्षी दलहरुको तर्फबाट नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइराला, जनता समाजवादी संसदीय दलका नेता जयराम यादव, माओवादी केन्द्रका सांसदहरू कुलप्रसाद साम्बा र पूर्वराज्यमन्त्री विजय विश्वासलगायत सहभागी रहेका थिए ।