२०७९ माघ १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २० जेठ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सुनसरीको देवानगञ्ज गाउँपालिका कोरोना भाइरसले बढी प्रभावित छ । देवानगञ्जका भारतीय सीमासँग जोडिएका वडाहरूमा संक्रमितका साथै मृत्युदर पनि उत्तिकै धेरै छ । चेतनाको कमी भएका कारण स्वास्थ्य सुरक्षा मापदण्डको पालना नभएका कारण वा कोरोनाले ग्रस्त छिमेकी मुलुक भारतीय सीमासँग जोडिएको वडा भएका कारण संक्रमितको संख्या उच्च रहेपछि गाउँ नै त्रसित बनेको अवस्था छ ।

त्यतिकैमा देवानगञ्ज वडा नं ६ का युवाहरुले पालिकाभित्र कोरोना रोकथामका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धतासहित काम थालेका थिए । वडा नं ६ भित्र रहेका कोरोना संक्रमितको घरमा स्वास्थ्य सामग्री वितरण गरेर अभियान थालेका युवाहरु भगवान मण्डल, चन्दन यादव र चन्दन मेहताले निरन्तरता दिँदैआएका छन् ।

विभिन्न सहयोगीहरु हातहरुसँग समन्वय गरेर अभियानको थालनी गरेका उनीहरुले स्थानीय प्रशासनको पनि केही हदसम्म सहयोग पाएका छन् । त्यसबाहेक स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको साथ पाएका उनीहरुले अब भने स्वास्थ्य सामग्री विरतरणका अलाबा भिडभाड हुने तथा संक्रमितको घरमा निर्मलीकरणसमेत गर्ने गरेका छन् ।

बुधबार युवाहरुले जनप्रतिनिधि तथा कोरोना संक्रमितको घरसहित देवानगञ्जका २५ घरधुरी निर्मलीकरण गरेका थिए । यस्तै, प्रहरी चौकीलगायत भिडभाड हुने स्थानहरुमा उनीहरुले निर्मलीकरण गरेका हुन् । ‘कोरोना संक्रमणको अवस्था भयावह हुँदा पनि कानमा तेल हालेर सुतेको स्थानीय प्रशासनलाई जगजगाउने उद्देश्यका साथ अभियानको थालनी गरेका थियौँ’, अभियानका नेतृत्वकर्ता भगवान मण्डलले भने, ‘सुरुमा सहयोग नभएपनि पछि प्रशासन र जनप्रतिनिध सबैले साथ दिनुभएको छ । यो महामारीमा सक्दो सहयोग गरे धेरैलाई उद्धार गर्न सकिन्छ जस्तो लाग्छ ।’

संक्रमितको घर–घर पुगेर परामर्श

चार युवाहरु आफैँ मात्र संक्रमितको घर–घर पुग्दैनन् । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको टिम पनि सँगसँगै हुन्छ । मास्क, सेनिटाइजर, साबुनलगायत स्वास्थ्य सामग्री वितरण गर्दै उनीहरुको टोलीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी संक्रमितलाई भेटेर परामर्शसमेत दिन्छन् । परामर्शका लागि उनीहरुले स्वास्थ्यकर्मीको सहयोग लिन्छन् ।

पिपिईसमेत लगाएर खटिएका स्वास्थ्यकर्मीले अक्सिमिटरको सहायताले अक्सिजन लेबल जाँच्ने तथा संक्रमितलाई घरपरिवारका अन्य सदस्यमा संक्रमण हुनबाट जोगाउन सतर्कताका उपायहरू सुझाउँछन् । यो अभियान प्रत्येक सातामा निरन्तर रूपमा हुन्छ ।

‘होम आइसोलेसनमा रहेका संक्रमितको अवस्था कस्तो छ र उहाँहरुलाई स्वास्थ्य सामग्री कत्तिको उपलब्ध छ भन्ने बुझ्नका लागि पनि वडाध्यक्ष, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहितको टिम लिएर हामी संक्रमितको घर–घरमा पुग्ने गरेका छौँ । यसले गर्दा उहाँहरुको मनोबल पनि बढ्छ,’ उनले भने ।

यस अभियनामा स्वास्थ्यकर्मीहरू कुन्दन मण्डल, रामखेलन मेहता र राजकुमार मेहतासँग युवाले समन्वय गर्ने गरेका छन् । त्यसबाहेक अभियानलाई देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईको पनि उल्लेख्य सहयोग रहेको अभियानकर्ता मण्डल बताउँछन् ।

त्यसबाहेक युवाहरुले कोरोना संक्रमण भइ निको भएका सञ्चारकर्मी अरबिन्द मेहतासँगको समन्वयमा संक्रमितको घर–घर पुगेर परामर्श दिने गरेका छन् । मेहताले युवाहरुको अभियानलाई साथ दिँदै आफ्ना अनुभव बाँड्दै कोरोनाविरुद्धको लडाइँ सहजै जित्ने उपाय, उनीहरुका परिवारलाई संक्रमितको हेरचाह तथा संक्रमणको चेन ब्रेक गर्ने प्रभावकारी उपायबारे सचेतना फैलाउन पाउँदा आफूलाई खुसी लागेको सुनाए ।

अभियानबाट संक्रमित र जनप्रतिनिधिसमेत खुसी

देवानगञ्ज–६ का वडाध्यक्ष देवनारायण मेहता युवाहरुको सक्रियताबाट खुसी छन् । युवाहरुको यो कामले जनप्रतिनिधिलाई पनि झकझगाएको बताउँदै उनले आगामी दिनमा पनि यो अभियानमा साथ र सहयोग रहने बताए । उनले भने, ‘यो महामारीमा यसरी नै एक–अर्काको सहयोगमा उत्रिँदा मानवता जीवित रहन्छ । उहाँहरुले थालनी गर्नु भएको छ । यसले निरन्तरता पाओस्, हाम्रो पनि साथ र सहयोग रहनेछ ।’

यसैगरी, वडा नं ६ का एक पुरुष संक्रमितले युवाहरुको यो अभियानले कोरोना जित्ने थप हौसला प्रदान गरेको बताए । गाउँपालिका तथा प्रतिनिधिले यस्तो काममा ढिलाइ गर्न नहुने बताउँदै उनले विशेषगरी ग्रामीण भेगमा रहेका आफूजस्ता संक्रमितले चिकित्सकको आवश्यक परामर्श नपाउँदा जोखिम बढेको सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!