
विराटनगर, २० जेठ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सुनसरीको देवानगञ्ज गाउँपालिका कोरोना भाइरसले बढी प्रभावित छ । देवानगञ्जका भारतीय सीमासँग जोडिएका वडाहरूमा संक्रमितका साथै मृत्युदर पनि उत्तिकै धेरै छ ।
देवानगञ्ज, बर्जु र हरिनगर गाउँपालिकाको समन्वयमा हरिनगरमा ५० बेडको आइसोलेसन सञ्चालनमा छ । तर उक्त आइसोलेसन टाढा रहेका कारण देवानगञ्ज–२ स्थित इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनमा आइसोलेसन राख्ने जनअपेक्षा छ । कोरोनाबाट ग्रस्त बनेको देवानगञ्जका स्थानीयले आइसोलेसनका लागि हाल प्रयोगमा नरहेको प्रहरीको भवन प्रयोग गर्ने आशा राखेका हुन् ।
इलाका प्रहरी कार्यालय हाल देवानगञ्ज–२ मै छ । पुरानै भवनमा बसेर प्रहरीले सुरक्षा दिइरहेको छ । नवनिर्मित भवनको निर्माणकाम गत वर्ष मागको अन्तयतिर नै सम्पन्न भएको थियो । चार–पाँच महिना अघिदेखि नै प्रयोविहीन भवनलाई आइसोलेसन बनाएमा कोरोना रोकथाम अभियानले तीव्रता पाउने स्थानीय अभियानकर्मी भगवान मण्डल बताउँछन् ।
अबका केही समय प्रहरीले पुरानै भवन प्रयोग गरी नवनिर्मित भवनलाई आइसोलेसन बनाउँदा देवानगञ्जबासीलाई पायक पर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘कोरोनाबाट भयावह भइरहेको अवस्थामा उक्त भवन उपलब्ध गराउँदा पालिकाबासीलाई सहज हुन्थ्यो । टाढा भएका कारण भुटाहामा रहेको आइसोसेजन जान स्थानीय मानिरहेका छैनन् । यहाँ भए पायक पर्नेथियो ।’
यसअघि नै पालिकाले उक्त भवनलाई आइसोलेसन बनाउन प्रहरीसमक्ष प्रस्ताव राखेको भए पनि प्रक्रियागत लम्ब्याइमा पारेर प्रहरीले भवन उपलब्ध गराउन आनाकानी गरेको स्रोत बताउँछ । स्रोतका अनुसार पुनः निसंक्रमण गर्नुपर्ने झन्झटका कारण पनि प्रहरीले उक्त भवन दिन नमानेको हो ।
यसैगरी, देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईँले स्थानीयको जनअपेक्षानुसार नै प्रहरी चौकीलाई आइसोलेसन बनाउन प्रहरीसँग समन्वय गरिरहेको बताए । ‘हुनत आइसोलेसन खास प्रभावकारी रहेको छैन । संक्रमितहरु होम आइसोलेसनमै बसिरहनु भएको छ । त्यै पनि गम्भीर प्रकृतिका संक्रमितका लागि आवश्यक नै छ । अगाडि पनि एकपटक प्रहरीसँग प्रस्ताव राखेका हौँ । उहाँहरुले निर्णय लिनु भएको छैन ।’
यस्तै, गाउँपालिकाका स्वास्थ्य संयोजक उमेशकुमार मेहता प्रहरी भवनमा आइसोलेसन सञ्चालन गर्न पाए कोरोना नियन्त्रण अभियानलाई सहजता आउन सक्ने बताउँछन् । सबैलाई नजिक पर्ने भएका कारण पनि उक्त भवन उपयुक्त हुने मेहताको भनाइ छ ।
यता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले इलाका प्रहरी कार्यालयको नवनिर्मित भवन आइसोलेसनका रुपमा प्रयोग गर्न नसकिने बताउँछन् । यसअघि पालिकाबाट प्रस्ताव आएता पनि सो भवनमा प्रहरी सर्नेक्रममा रहेकाले आइसोलेसन बनाउन नसकिने उनको तर्क छ ।
‘हालको प्रहरी कार्यालय जीर्ण अवस्थामा छ’, उनले ग्रामीण खबरसँग भने, ‘यसैले पनि त्यहाँबाट नयाँ भवनमा सरिसक्नुपर्छ । हामीले त्यहाँ सर्नका लागि प्रदेश प्रहरी कार्यालयमा पत्र पठाएका छौँ । त्यहाँबाट आदेश आउनेबित्तिकै सरिहाल्छौँ ।’ आफूहरू कुनै पनि बेला सर्नुपर्ने अवस्था आएका कारण प्रहरीको भवनमा आइसोलेसन बनाउँदा उचित नहुने उनको भनाइ छ ।
देवानगञ्जमा हाल संक्रमितको संख्या १७७ पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ३२ रहेको छ भने तीन जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।