विराटनगर, २१ जेठ । सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
धरानमै लुकी–छिपी बसेका तीन जनालाई पक्राउ गरिएको जानकारी दिँदै उनले अरू सात जनाको खोजी भइरहेको बताए । घटना स्वीकार गरेपनि अरू पक्राउ नपरुन्जेल उनीहरूको नाम गोप्य राखिने उनले बताए ।
‘अरू सात जनाजति फरार छन् । उनीहरू पक्राउ नपर्ने हुनसक्छ । यसैले अहिले नै नाम खुलाउँदैनौँ’, उनले ग्रामीण खबरसँग भने, ‘पक्राउ परेका तीनै जना अभियुक्तहरूलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । अन्य अभियुक्तहरूको खोजी तीव्र पारिएको छ ।’
उजुरी लेखाउन धरान उपमहानगरपालिका–१५ स्थित अस्थायी प्रहरी चौकी आएका सम्पन्न राई र उनका साथीलाई मार्न भनेर हतियारसहित आएको एक समूहले प्रहरीमाथि नै आक्राण गरेर फरार भएको थियो ।
जेठ १३ गते बेलुका उनीहरूको आक्रमणबाट असई सुमन दाहालसहित चार प्रहरी घाइते भएका थिए । दाहालको हातको औँला, पाता र ढाडमा गहिरो चोट लागेको थियो । उक्त समूहले गितारको झोलामा बोकेर ल्याएको खुकुरी, कट्टि र रडले प्रहरीमाथि प्रहार गरेका थिए ।




