सुनसरी, २१ जेठ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सुनसरीमा जारी भएको निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीले आदेश जारी गर्दै जिल्लामा नयाँ भेरियन्टको कोभिड–१९ महामारीको सङ्क्रमण अझैपनि बढिरहेको हुँदा सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशअनुसार जेठ १४ गतेको आदेशबमोजिम ३१ गते राति १२ः०० बजेसम्म जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा थपिएको हो ।
यस अवधिमा बैंक तथा बित्तिय संस्थाहरूको हकमा भने सम्बन्धित स्थानीय तह तथा उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा आइतबारदेखि हप्तामा ३ दिन (आइतबार, मंगलबार र बिहीबार) स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखी खुला गर्ने गरी व्यवस्था मिलाइएको छ ।
यस्तै, अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालयमा आवश्यक पर्ने कर्मचारीहरू राखेर बिहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म र दिउँसो ५ः०० बजेदेखि ६ः०० बजेसम्म कार्यालयमा उपस्थित हुने प्रयोजनका लागि परिचय पत्रका आधारमा आवत जावत गर्न पाइने भएको छ ।





