२०८० चैत्र ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ । हृदयघात भएर आएका एक कोरोना संक्रमितको नोबेल शिक्षण अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको छ। हृदयघात भएर अस्पताल भर्ना भएका इटहरी-३ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको सफलतापूर्वक एन्जियोप्लाष्टि गरिएको हो । नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, डा.सुशान्त कटुवाल लगायत चिकित्सकहरुको टोलीले संक्रमितको शल्यक्रिया गरेको हो । एक साता अघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै होम आइसोलेशन बसेका थिए ।

आकस्मिक रुपमा छाती दुख्न थालेपछि उनलाई नोबेल अस्पताल भर्ना गरियो । परीक्षण गर्दा हार्टअट्याक भएको देखिएपछि तत्काल प्राइमरी एन्जियोप्लाष्टि गरिएको नोबेलका निर्देशक एवं मुटुरोग विशेषज्ञ डा.नेपालले बताए ।

‘होम आइसोलेशनमा बसेका बेला चेस्टपेन भएर अस्पताल ल्याउनु भएको थियो । सुरुमा मुटुको इसीजी गर्दा हार्टअट्याक देखियो । त्यसपछि एन्जियोग्राफी गर्दा मुटुको देने नशा पूर्ण रुपमा ब्लक देखिएपछि एन्जियोप्लाष्टि गरेर ब्लकेज खोलेका छौं,’ डा.नेपालले भने, ‘यस्तो अवस्थामा अरु रिपोर्ट पर्खन थाल्यो भने विरामीको मुटु झन-झन कमजोर हुँदै गएर ज्यान जान्छ । त्यसैले विरामीको ज्यान बचाउँन कोरोना संक्रमित थाहा पाउँदा-पाउँदै पनि स्वास्थ्य सावधानी अपनाएर प्राइमरी एन्जियोप्लाष्टि गरेका हौं।’

संक्रमितको खुट्टाको नशाबाट सुक्ष्म तार छिराएर मुटुको व्लक खोली त्यहाँ जाली लगाइएको हो । चिकित्सकहरुले पीपीई लगाएर पूर्ण रुपमा स्वास्थ्य सावधानी अपनाई एन्जियोप्लाष्टि गरेका हुन् । अहिले विरामीको स्वास्थ्य अवस्था सामान्य छ।

त्यस्तैगरी मोरङको कानेपोखरी घर भएका ४८ बर्षीय कोरोना संक्रमित पुरुषको पनि नोबेलमा एन्जियोग्राफी गरिएको छ । उनमा चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो । छाती दुखेर अस्पताल भर्ना भएका संक्रमितको एन्जियोग्राफी गर्दा मुटुको नशा सामान्य ब्लक देखिएकाले थप उपचार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

यसअघि दुर्घटना भएर मष्तिस्कमा रगत जमेर आएकी सुनसरीको बर्जु गाउँपालिका-४ की ३८ बर्षीय कोरोना संक्रमित महिलाको पनि नोबेलमा सफल शल्यक्रिया गरिएको थियो । कोरोना संक्रमितलाई अन्य स्वास्थ्य समस्या हुँदा ज्यान थप जोखिममा हुने भएकाले उनीहरुलाई जस्तोसुकै उपचार गर्न पनि नोबेल तयार रहेको नोबेलका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!