२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लमजुङ । कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप्न शुरु गरिएको हो । बेलाबेला वर्षा हुन थालेसँगै केही दिन अघिदेखि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा धान रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताए ।

उनका अनुसार जिल्लाको उच्च भेग तथा नदीको नजिक भएको भेगमा रोपाइँ हुन थालेको छ । विषेशगरी यतिबेला जिल्लाको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु, बाहुनडाँडालगायत जिल्लाको माथिल्लो भेगमा रोपाइँ हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । घेर्मुका घनश्याम घलेका अनुसार घेर्मुफाँटमा सिँचाइको सुविधा भएसँगै कोरोना सङ्क्रमणका बीच पानी भएको बेला धान रोप्न शुरु भएको छ ।

उनले भने,  “यस फाँटमा दैनिक छ-सात जना किसानको रोपाइँ हुने गरेको छ भने एउटै मेलामा ३५-४० जना खेताला हाल्दै आएको छ । आइतबारबाट शुरु गरेको थिएँ, मेरो १० रोपनी जग्गामा आज रोपाइँ सम्पन्न हुन्छ ।”

त्यसपछि पर्म तिर्नका लागि अरुको रोपाइँमा जाने घलेले बताए । यहाँ उनीसहित थमनबहादुर घले, पूर्ण घले, किसान गुरुङलगायतका किसानले रोपाइँ गरिरहेका छन् । सङ्क्रमण तीव्ररूपमा फैलिरहे पनि यहाँ रोपाइँमा भने कसैले पनि मुखमा मास्क प्रयोग गरेका छैनन् । स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम भएको छैन ।

स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने भनिए पनि वर्षायाममा खेतबारीमा धेरै किसानका बीच धान रोपाइँ गर्दा जोखिम भने रहने किसानको भनाइ छ । कोरोना सङ्क्रमण जोखिमको चिन्ताभन्दा धान रोपाइँ गर्नुको चिन्ताले यतिखेर किसान बिहानदेखि साँझसम्म धान रोपाइँ गर्नमै व्यस्त हुने गरेका छन् । यसबाहेक पनि सुन्दरबजार दुराडाँडामा समेत केही दिनमै रोपाइँ शुरु गर्ने तयारी भएको छ । त्यस्तै बेँसीशहर नगरपालिका–११ रामचोक फाँटमा रोपाइँको तयारी भइरहेको र यतिबेला बाँझो जमिन जोत्ने काममा किसान व्यस्त भइरहेको स्थानीयवासी ईश्वरराज सेढाईँले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!