२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, २५ जेठ । धरान उपमहानगरपालिका–१५ बाझगरास्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने दुई जना युवाले मङ्गलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रहरी चौकीमा आक्रमण गरी फरार भएका धरान–१५ का ३२ वर्षीय रेगन राई र धरान–४ बस्ने ३० वर्षीय वसन्त राईले धनकुटाका जनप्रतिनिधिमार्फत आत्मसमर्पण गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले ग्रामीण खबरलाई जानकारी दिए ।

जेठ १३ गते उनीहरूले चौकीमा आक्रमण गरी प्रहरीलाई घाइते बनाएका थिए । अस्थायी प्रहरी चौकी बाझगरामा कार्यरत असई सुमन दाहाललगायत चार प्रहरीमाथि खुकुरी, कट्टि, रडलगायत हतियार प्रहार गरी घाइते बनाएर उनी फरार भएका थिए ।

आफूहरूलाई काट्ने–मार्ने धम्की दिएको भन्दै उजुरी लेखाउन प्रहरी चौकी आएका धरान–१५ का प्रशन्न राई र उनका एक साथीलाई चौकीमै काट्न भनेर आएका १० जनाको एक समूहले प्रहरीमाथि नै आक्रमण गरेको थियो । जबरजस्ति चौकीभित्र पस्न खोजेपछि इन्चार्जसहित केही प्रहरीले रोक्न खोज्दा उनीहरूले आक्रमण गरेका थिए । त्यसक्रममा असईलाई हातमा चोट लाग्यो भने अरू प्रहरी पनि सामान्य घाइते भएका थिए ।

त्यसपछि फरार रहेका उनीहरूलाइ सुनसरी प्रहरीले धनकुटा र तेह्रथुम प्रहरीको सहयोगमा व्यापक खोजी थालेको थियो । प्रहरीको खोजी थाहा पाएपछि मुख्य आरोपी उनीहरूले मङ्गलबार धनकुटा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् । १० जनाको टोलीमध्ये मुख्य आरोपी २ जनाले मङ्गलबार आत्मसमर्पण गरेको डिएसपी कार्कीले बताए ।

डिएसपी कार्कीका अनुसार उनीहरू ११ दिनसम्म धनकुटाको शुक्रबारेस्थित जंगलमा लुकेर बसेका थिए । तेह्रथुम र धनकुटा प्रहरीको समन्वयमा पक्राउ परेका उनीहरूलाई आजै धनकुटाबाट धरान ल्याइँदै छ । यसअघि नै उक्त प्रकरणमा धरानकै कालु लिम्बु, विक्रम राई र सिजन राई तीनजना पक्राउ परिसकेका छन् । पाँच जना भने अझै फरार छन् । पक्राउ परेका पाँच जना र फरार पाँच जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!