२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ जेठ । मोरङको बेलबारी नगरपालिकामा बोयर जातको बाख्रा किन्दा एक करोड रुपैयाँ चलखेल भएको पाइएको छ । नगरपालिकाकाले अस्ट्रेलियाबाट ल्याएको भन्दै वितरण गरेको बोयर जातको बाख्रा खरिदमा एक करोड रुपैयाँको चलखेल भएको हो ।

१० दिनअघि नगरपालिकाले अस्ट्रेलियाबाट चार्टर गरी ल्याइएको दाबी गर्दै कृषक समूह तथा ब्यवसायिक फर्महरूलाई बोयर जातका बाख्राका पाठा–पाठी वितरण गरेको थियो । ११ वटै वडामा ५२ वटा बोयर जातको बोका तथा ३८ वटा पाठी वितरण गरिएको थियो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी स्वयमले एक करोड २५ लाख मूल्य खर्च गरेर ल्याइएको भन्दै किसानहरूलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अस्ट्रेलियाबाट ल्याइएको बताएका थिए । बोयर जातका बाख्राका पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएर खरिद गरेर वितरण गरिएको बाख्रा खरिदमा ठूलो रकमको चलखेल भएको हो ।

बाख्रा खरिदको ठेक्का पाएको सङ्खुवासभाको ग्रो अर्गानिक कृषि फर्मले अस्ट्रेलियन भनेर नवलरासीका किसानबाट बाख्रा सङ्कलन गरेर ल्याएको हो । सोमबार बसेको कम्पनीका प्रतिनिधि र नगरपालिकाका पदाधिकारीबीचको बैठकले बाख्रा खरिदमा अनियमितता भएको आशङ्का गरेर छानबिन समिति गठन गरेको छ । नगरपालिकाका सूचना अधिकारी महेन्द्र खड्काले उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गठन गरिएको समितिले प्रतिवेदन बुझाएपछि कारवाही प्रक्रियामा उत्रिने बताए ।

उनले ग्रामीण खबरसँगको कुराकानीमा भने, ‘आकस्मिक बैठकले बाख्रा अस्ट्रेलियन नभएको पुष्टि गरेको छ । तर छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्र यसको निर्क्यौल हुनेछ । यदि अनियमितता भएको पाइए कडा कारवाही हुन्छ ।’ २४ लाखको बाख्रा किनेर एक करोड रुपैयाँ चलखेल भएकाे स्रोतकाे दाबी छ ।

यसअघि नगरपालिकाले दुई पटक सम्म आयातकर्तालाई कागजपत्र पेश गर्न समयसीमा तोकिदिँदा पनि कुनै कागजपत्र उपलब्ध नभएको उनको भनाइ छ । स्रोतका अनुसार अस्ट्रेलियाबाट ल्याइएको भनी प्रचार गरिएका बोका–पाठी नवलपरासीबाट ल्याइएको आयातकर्ता भनिएका श्याम पाण्डेले नै स्वीकार गरेका छन् । तर उनले पछिल्लो समय केही प्रतिक्रिया दिन चाहेका छैनन् ।

यसअघि भने पाण्डेले बाख्राहरू शुद्ध अस्ट्रेलियन भएको दाबी गरेका थिए । ग्रो अर्गानिक प्रालिका प्रतिनिधि पाण्डेले अस्ट्रेलियाबाट भारतको लखनउमा ल्यान्ड गरेर गाडीबाट नेपाल भित्र्याएको दाबी गरेका थिए । अस्ट्रेलियाको बोयर बाख्रा उत्पादन गर्ने सम्बन्धित कृषि फर्मबाट कागजपत्र झिकाउने र भन्सारसम्बन्धी कागजात पनि नगरपालिकामा पेश गर्नेसमेत उनले बताएका थिए ।

बेलबारी नगरपालिकाले हालसम्म उक्त कम्पनीलाई भुक्तानी गरेको छैन । अब, उक्त कम्पनीले सम्झौता अनुसारको बाख्रा पुष्ट्याइ नभएमा र सम्झौताबमोजिम अन्य मापदण्ड पूरा नदेखिएमा कम्पनीको धरौटी जफत गरी कालो सूचीमा राख्दै ठेक्का रद्द गरी कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने नगरप्रमुख सुवेदीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!