२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं–६ का वडाध्यक्ष देवनारायण मेहता उमेरले ६२ वर्ष पुगे । तर उनमा जनताको सेवा गर्ने जोश–जाँगर उत्तिकै छ । रात–बिहान नभनी उनी वडाबासीको सेवामा खटिन्छन् । हुनतः उनी जनताकै सेवाका लागि राजनीतिमा प्रवेश गरेका हुन् । राजनीति जनताको सेवा हो भन्ने सिद्धान्त उनले करिअरको सुरुवातदेखि हालसम्मको अवस्थामा लागू गरेकै छन्, र भोलिका दिनमा पनि कायमै राख्ने प्रण गर्छन् ।

नेपाली काङ्ग्रसेबाट चुनाव जितेर वडाध्यक्ष बनेका मेहता राजनीतिक जीवनको सुरुवातमा सानो बिपीको नाममा परिचित थिए । पञ्चायतकालमा राजनीतिमा लाग्न चर्को नै थियो । राजनितिमा होमिन्छु भन्नेले पनि नेपालबाहिर रहेरमात्र पार्टीको काम–कारवाही गर्थे ।

देवनारायण मेहताका काका भविलाल मेहता राजनीतिमा सक्रिय थिए । नेपालबाट नभएर उनीहरू भारतबाट नेपालको राजनीति गर्थे । काकाको प्रेरणाबाट राजनीतिमा होमिएका देवनारायण मेहता भने नेपालमा सक्रियता देखाउँदै थिए । आँटिला स्वभाव भएका मेहताको सक्रियता गाउँमा चर्चाको विषय बन्दै थियो । चर्चाका बीच उनी पनि राजनीतिमा सक्रिय भएको आरोपमा थुनामा परे ।

‘राजनीति गरेको सुइँको पाउनु त्यसबेला खतरा बन्न सक्थ्यो । अझ, पार्टीप्रतिको सक्रियता देखाए जेल–नेल मात्र होइन हत्यासम्म हुनसक्थ्यो,’ उनी भन्छन्, ‘यसैले काका पारिबाट राजनीतिमा गर्नुहुन्थ्यो । म यहाँ नै पार्टीका काममा लागेको थिएँ । गाउँबासीको सेवा गर्दै राजनीतिक करिअर थालेको ममाथि पार्टीप्रति सक्रिय भएका हिसाबमा पनि तत्कालीन सुरक्षाकर्मीले नजर लगाएका थिए । जसकारण आन्दोलनकै क्रममा मलाई प्रहरीले समात्यो ।’

२०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि शान्तिपूर्ण आन्दोलन भएको थियो । विभिन्न राजनीतिक दलहरू बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्न पञ्चायती सरकारविरुद्ध सडकमा उत्रिँदा नेपाली काङ्ग्रेसले नेतृत्व गरेको थियो । काङ्ग्रेसले नेतृत्व गरेको यस आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रिएका थिए ।

सो आन्दोलनमा सुनसरीको देवानगञ्ज क्षेत्रबाट नेतृत्व गरेका मेहतासहित सात जना पक्राउ परेका थिए । देवानगञ्जबाट पक्राउ परेका उनीहरूलाई हरिनगरा थानामा २१ दिन राखिएको थियो । थुनामा बस्दाका ती दिनहरू सम्झिँदा आज पनि मेहताको आङ सिरिङ्ग हुन्छ । थुनामा बस्दा पाएका दुःख, प्रहरीको कुटाइ र परिवारसँग भेटघाट गर्न नपाएका क्षणहरू सम्झिँदा अझ पनि सुरक्षाकर्मी क्रुर हुन्छन् भन्ने तर्क मनमा अझै पनि छ । त्यतिमात्र नभएर उनीसँग भेट गर्न आएका पञ्चहरूलाई पनि प्रहरीले टाढै राखेका थिए ।

५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरेका थिए । २०४६ साल फागुन ७ देखि चैत २६ गतेसम्म चलेको यस आन्दोलनको अन्त्य वि.सं. २०४६ चैत्र २६ गते भएको थियो । नेपालका तत्कालीन राजा वीरेन्द्रले नेपाली काङ्ग्रेसका नेताहरूलाई सहमतिका लागि बोलाएका थिए र सोही दिन भएको सम्झौताअनुसार निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बाहली भएको थियो । प्रजातन्त्रको पुनर्बाहली हुँदा देवनारायण र उनीसँगै पक्राउ परेका अरू राजनीतिक अभियन्ताहरू थुनामै थिए । त्यहाँबाट छुटेपछि भने उनको खुलमखुला राजनीति सुरु भयो ।

त्यसपछि उनले नेपाली काङग्रेस गाउँ सभापतिको रूपमा नेतृत्व गरे । राजगञ्ज सिनुवारी गाविसकाे पार्टी सभापति भई लामाे समयसम्म काम गरे । जुन हालकाे देवानगञ्ज गाउँपालिकाकाे वडा नम्वर ६ र ७ वडा हाे । उनले पाँच पटक पार्टीको सभापतिको नेतृत्व गरे र सङ्गठन बनाउनमा योगदान गरे । विशेगरी, उनी सुनसरी जिल्लाकाे नेतृत्व कर्तामध्येका एक थिए अनि सुनसरीकाे दक्षिणी भेगतर्फ सक्रिय रहन्थे । २०७४ साल असार २१ गते उनी वडाध्यक्ष बने ।

पारिवारिक जिम्मेवारीका कारण अध्ययन गर्न पाएनन्

कप्तानगञ्जको जनता प्राविबाट पढाइ सुरु गरेका उनले कृष्ण माविमा सात कक्षासम्म अध्ययन गरे । त्यतिबेला सो क्षेत्रमा शिक्षकहरू थिएनन् । यसैले भारतबाट शिक्षक आएर उक्त विद्यालयमा अध्यापन गराउँथे । पढाइ चलिरहेकै थियो, पछि २०३४ सालमा नागरिकताको टोली आउँदा उनले नागरिकता बनाए । नागरिकता बनाइसकेपछि भने उनले पारिवारिक जिम्मेवारी बहन गर्नेबारे सोचे र पढाइ छोडे । परिवारको जेठो छोरा भएका कारण पनि उनमा यो सोच आउनु स्वभाविक नै थियो ।

‘नागरिकता बनाइसकेपछि पढाइ छोडेँ । नागरिकता बनाइसकेपछि आफूमा पारिवारिक जिम्मेवारी आइपरेको महसुस गरेँ । परिवारको जेठो भएका कारण पनि मैले पढाइ छोडेँ , उनी भन्छन् ।

जोगबनीमा बैठक, नेपालमा कार्यान्वयन

पढाइ छोडेपछि भने उनी राजनीतितिर सक्रिय भए । उनको राजनीतिक सुरुवातमा राजतन्त्रको चर्को दवाव थियो । राजाले सुरक्षाकर्मी खटाएका हुन्थे, पुलिसको निगरानीका लागि चार जनाको समूह देख्दा पनि प्रहरीले पक्रेर लैजान्थ्यो । यसैले पार्टीहरूलाई सक्रिय हुन गाह्रो थियो, मेहतालगायतको टोलीको बैठक भारतको जोगबनीमा बस्थ्यो । बैठकका निर्णय भने गाउँमा कार्यान्वयन हुन्थ्यो । यसरी नै मेहताले टोलीको नेतृत्व गर्दैथिए ।

उनीसँगै राजनीतिक करिअर सुरु गरेका जयहरि शर्मा, हरि सापकोटा, जवाहर मेहतालगायत थिए । उनीहरूमध्ये हरि सापकोटा गृहराज्यमन्त्री बनेका थिए । जयहरि शर्मा कोसीटप्पु बन्यजन्तु आरक्ष केन्द्रको अध्यक्ष बनेका थिए भने जवाहर देवानगञ्ज गाउँपालिका-६ काङ्ग्रेस सभापति छन् । यसअघि २८ वर्ष मेहताले नै राजगञ्ज सिनवारीका काङग्रेस सभापतिको रूपमा नेतृत्व गरेका थिए ।

गिरिजाबाबुलाई जिताउन महत्त्वपूर्ण योगदान

गिरिजाप्रसाद कोइराला र प्रकाशमान सिंहसँग उनको राम्रो उठबस थियो । उनीहरू देवनारायण मेहताको घरसम्म पनि आउँथे । उनीहरू आउँदा भने खुसी हुन्थे मेहता । त्यतिमात्र नभएर गिरिजाबाबुलाई वि.सं. २०४६ सालको जनआन्दोलनपश्चात नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित गराउन मेहताको महत्त्वपूर्ण योदान छ ।

गिरिजाबाबु मोरङ क्षेत्र नं. १ र तथा सुनसरीको क्षेत्र नं ५ बाट विजयी भएका थिए । सोही निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीले प्रतिनिधिसभा (संसदको तल्लो सदन)मा २०५ सिटमध्ये ११० सिटको बहुमत प्राप्त गरी विजयी भएको थियो । यो विजयपछि उनी नेपाली काङ्ग्रेस पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

फेरि पनि वडाबासीको सेवा गर्ने चाहना

पार्टी सङ्घर्ष गर्दागर्दै उनलाई सङ्घीयता आएपछि देवानगञ्ज–६ को वडाध्यक्षका लागि काङ्ग्रेसले टिकट दिने भयो । त्यसअघि उनले पार्टीबाट पदको अपेक्षा गरेका थिएनन् । किनकि, देशको अवस्था सुधार्न र राजनीतिक सुधार गर्नका लागि राजनीतिमा होमिएका कारण उनमा पदको लोभ थिएन । र, अरू कुनै पदमा बसेनन् ।

देशमा सङ्घीयता आएसँगै भने उनले वडाध्यक्षको जिम्मेवारी पाए । अहिले वडाको जिम्मेवारी पाएपछि उनी वडाबासीप्रति समर्पित भएर दिन–रात खटिएका छन् । त्यतिमात्र नभएर उनले आफूले अन्नबाली खाँदै आएको तीन कठ्ठा जमिन स्वास्थ्यचौकी निर्माण गर्नका लागि दिएका थिए । उक्त स्वास्थ्यचौकी निर्माण सम्पन्न भइसकेको छ । वडाबासीकै सेवा गर्नका लागि अर्कोपटक पनि वडाध्यक्षमै उठ्ने उनको अडान छ । पार्टीले टिकट दिएमा पुनः अर्को कार्यकाल वडाध्यक्ष बनेर जनताकै सेवा गर्ने उनको चाहना छ ।

‘मेराे जीवन सम्पूर्ण रूपमा पार्टी मै समर्पित रह्यो । र जीवन रहुन्जेल पार्टी र समाजप्रति ईमान्दारितापूर्वक समर्पत रहने छु । अहिले वडाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै मैले स्वास्थ्यचौकीका लागि अन्नबाली खाँदैआएको जग्गा दिएको हुँ । मलाई अझै पनि वडाबासीकै सेवा गर्ने मन छ’, उनले भने, ‘पार्टीले टिकट दिएमा फेरि यही पद दोहोर्याउँछु । मलाई अरू ठूलो पद चाहिँदैन । जनताकै सेवा गर्न पाए हुन्छ ।’

पछिल्लो समय भने उनी कोरोना भाइरसबाट सङ्क्रमितहरूको सेवामा तल्लीन छन् । उनी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा युवाहरूलाई लिएर आफ्नो ज्यानको प्रवाह नगरी वडामा भएको सङ्क्रमितको घरसम्म पुगेर आवश्य स्वास्थ्य सामग्रीसहित सङ्क्रमितहरूको मनोवल उच्च बनाइराख्न सहयोग गर्दैछन् । यस्तै, सङ्क्रमितप्रति छिमेकीहरूले गर्ने व्यवहारमा सुधार होस् भन्ने मनसायका साथ उनले सङ्क्रमित तथा छर–छिमेकमा सर–सल्लाह दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!