सल्यान, २९ जेठ । सल्यानका किसानले लगाएको मकै बालीमा फेद कटुवा र गुबारो किराको प्रकोप देखिएको छ । गोड्ने अवस्थामा पुगेको मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरू मारमा परेका छन् ।
जिल्लाको मुख्य बालीको रुपमा रहेको मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरू चिन्तित हुन थालेका छन् । दुई पटक गोडी सकेको मकै किराले काटेर सखाप बनाएको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरका किसान दीपेन्द्र रेउलेले बताए ।
दुई पटक विषादी हाल्दा पनि कम नभएको उनको भनाई छ । रातको समयमा मकैको फेदमा आएका किरालाई मार्ने गरे पनि ५ -६ रोपनीमा किरा मार्न सम्भव नभएको रेउलेको भनाई छ ।
सिद्ध कुमाख गाउँपालिका १ मेलबोटका देवी बुढाथोकीले किराले मकै सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रो पटक रोपेको बताए । एक नम्बर वडाका १ सय बढी किसानले लगाएको मकैमा किराको प्रकोप देखिएको किसानहरूको भनाई छ ।
१ नम्बर वडाका अधिकांश किसानले रोपेको मकैमा किरोको प्रकोप देखिएको सिद्ध कुमाख गाउँपालिकाका नायव प्राविधिक सहायक चन्द्र बहादुर केसीले बताए । किरा नियन्त्रणका लागि २३ वटा समूहलाई इमोभेटिन नामक विषादी वितरण गरिएको उनको भनाई छ ।
जिल्लाका सिद्ध कुमाख, कालीमाटी छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिका लगायतका स्थानमा किसानहरूले लगाएको मकै बालीमा फेद कटुवा, गुबारो किराको प्रकोप देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
फेद कटुवा, गुबारो र फौजी किरा पुतली समूहमा पर्ने भएकाले सुरुमै विषादी प्रयोग गर्न सके नियन्त्रणमा आउने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आर्चायले बताए । गुबारो र फौजी किरा दिनमा नदेखिने र रातमा काट्ने भएकाले नियन्त्रण गर्न केही रहेको उनको भनाई छ ।




