तनहुँ, असार ३ गते । टीका र चुरा किन्न समेत पतिमा आश्रित हुने सिर्जना तिवारी हाल आफै वार्षिक आठ लाख कमाउन सफल भएकी छन् । महिला चुलाचौकामा मात्रै सीमित नभई उद्यमशील बनेर आय आर्जन गर्नुपर्छ भन्ने सोचेर शुरु गरेको गाईपालन व्यवसायले उनलाई लखपति बनाएको हो ।
उनले दूध बेचेर वार्षिक करिव आठ लाख रुपियाँ बचत हुने गरेको जानकारी दिइन् । गाईबाट मनग्गे आम्दानी भएपछि छोराछोरीको उच्च तहको पढाइ खर्चको लागि समेत श्रीमान्सँग पैसा माग्नुपरेको छैन । ‘‘टीका चुरा किन्न, माइत जान श्रीमान्सँग पैसा माग्नुपर्थ्याे । व्यवसाय गरेपछि छोराछोरीको पढाइ खर्च पनि माग्नुपरेको छैन’’ उनले भनिन् ।
व्यास नगरपालिका–१३, बेलबास निवासी सिर्जनाले होलस्टेन र जर्सी जातका १० वटा माउ गाई पालेकी छन् । २१ वर्ष अघिदेखि व्यवसाय गर्दै आएको र मासिक एक लाख रुपियाँको दूध बिक्री गर्दा ६५ देखि ७० हजार बचत हुने गरेको सिर्जनाले बताइन् । ‘‘बच्चा हुर्किदै जाँदा फुर्सदिलो भएँ, दूधभात खानको लागि एक गाई मात्रै पाल्दै आएकोमा व्यवसायिक रुपमा बढाएर १० वटा पुर्याएँ’’ सिर्जनाले भनिन् ।
उनले आफ्नो २५ रोपनी जमिनमा गाईपालन व्यवसाय सञ्चालन गरेकी छन् । १३ रोपनीमा घाँस खेती गरेको र १२ रोपनीमा परालको लागि धान लगाएको सिर्जनाले जानकारी दिइन् । ‘‘प्रशस्त जमिन भएर पनि युवाहरु विदेशिने गदर्छन्, नेपालमै भूगोल अनुसारको बाख्रा, कुखुरा, गाइभैंसी जे पाल्न सकिन्छ त्यही व्यावसायिक रुपमा गर्ने तथा तरकारी लगाएर यही माटोमा मनग्गे कमाउन सकिन्छ’’ सृजनाले भनिन् ।
स्थानीय सरकारले थोरै जमिनको भन्दा धेरै जमिनमा व्यवसायिक खेती गर्नेलाई ध्यान दिनु पर्ने उहाँको सुझाव छ । व्यास नगरपालिकाले कौशी खेतीलाई प्राथमिकता दिएको छ, जग्गा जमिन धेरै भएको ठाउँमा ध्यान कम गएको उनले बताइन् । कौशी खेती भनेको सामान्य गर्जो टार्न मात्रै हो, त्यो बजेट गाउँमा लगेर विपन्न वर्गका कृषकका लागि सहयोग गर्ने हो भने फलदायक हुने सिर्जनाले बताइन् ।




