
विराटनगर, ५ असार । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा विभेद भएको भन्दै एक समूहले नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेको छ । मनपरी तरिकाले नेपाली काँग्रेस मोरङको क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ४ क्रियाशिल सदस्य वितरण गरेको भन्दै कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पुसेट विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाई विराटनगरले काँग्रेसको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेको हो । काँग्रेसको क्षेत्रीय कार्यालयले तानाशाही ढंगले क्रियाशिल सदस्यहरुले पाउनुपर्ने व्यक्तिले नपाएर आफ्नो नजिकको व्यक्तिलाई क्रियाशिल सदस्य दिएको भन्दै उनीहरुले विराटनगर ४ मा रहेको कार्यालयमा तालाबन्दी गरेको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए ।
‘बुथबाट सिफारिस गरि पठाएका नामावालीहरुलाई पाखा लगाइ मनोमानी ढंगले क्रियाशिल सदस्य वितरणको घटनाप्रति खेद व्यक्त गर्न चाहन्छौं,’ नेपाल विद्यार्थी संघ पुसेटका सभापति पाश्चर घिमिरे र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ्गका सभापति मिलन श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘अन्य पाउनै पर्ने व्यक्तिको नाम समावेश नगरेर पार्टीको धर्म र सिद्धान्त भुलेको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा लेखिएको छ’, हामी बुथबाट सिफारिस गरी पठाइएका नामावलीहरूलाई पाखा लगाइ मनोमानी ढङ्गले क्रियाशिल सदस्यता वितरण गर्न उद्दत देखिने उहाँको नियतले हाम्रो नेपाली काङ्ग्रेस पार्टी लोकतान्त्रिक हो कि होइन भन्ने प्रश्न चिह्न खडा गरेको छ ।’