विराटनगर, ६ असार । वनका कर्मचारी तथा पत्रकार बनेर विभिन्न फर्निचर उद्योगबाट रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले शुक्रबार सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार वनको कर्मचारी र पत्रकार हौँ, कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस् अन्यथा तपाईँहरूलाई काम गर्न अप्ठेरो हुनेछ भनेर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
शुक्रबार साँझ ६ बजेतिर मोरङको रतुवामाई नगरपालिका–१० स्थित पूर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको माईवेनी स–मिलबाट इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
दधिराम चौहानको साथबाट २५ हजार ९९५ तथा पुष्पप्रसाद सिग्देलको साथबाट सात हजार नगदसहित पक्राउ गरिएको डिएसपी राईले जानकारी दिए । साथै उनीहरूको साथमा सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड एक थान, उठाएको रकम अभिलेख भएको डायरी एक थान, कान्तिपुर पोष्टको बजार ब्यवस्थापकको परिचय पत्र एक थान, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र एक थान र बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र एक थान फेला परेको छ ।




