२०८२ कार्तिक १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
झापा, ६ असार ।  नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर) ‘रामपुर–१०’ जातको मकैको उत्पादन झापामा राम्रो भएको छ । परीक्षणका लागि झापामा यस बर्ष १० हेक्टरमा रामपुर–१० जातको मकै लगाइएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा ‘मकै जोन’ कार्यक्रम सञ्चालनमा छ । उक्त कार्यक्रमअन्तर्गत कनकाई नगरपालिका र झापा गाउँपालिकाका किसानलाई रामपुर–१० जातको मकै खेती गर्न बिउबिजन निःशुल्क उपलब्ध गराएको परियोजना झापाका प्रमुख रबिन्द्र सुवेदीले जानकारी दिए ।
नेपालमै विकास गरिएको हाइब्रिड रामपुर-१० जातको मकै ‘रामपुर–१० नेपालमै विकास गरिएको मकैको जात हो । यसको उत्पादन कस्तो हुन्छ भनेर ट्रायलका लागि यस बर्ष १० हेक्टरमा खेती गरिएको थियो । यति नै उत्पादन भयो भनेर यकिन त गरिसकेको छैनौं । तर, उत्पादन र किसानको प्रतिक्रिया सन्तोषजनक छ’ सुवेदीले भने ।
रामपुर–१० हाइब्रिड मकैको जात चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले विकास गरेको हो । यसअघि विकास गरिएका जात भन्दा रामपुर–१० राम्रो भएपनि यसको व्यवसायिक बीउ उत्पादन सुरु नहुँदा किसानसम्म पुग्न सकेको छैन । बीउ उत्पादन तथा क्षेत्र विस्तारअन्तर्गत झापामा पनि यस बर्ष रामपुर–१० हाइब्रिड जातको मकै खेती गरिएको सुवेदीले बताए ।
गत बर्ष नेपालमा ३० दशमलव ५ टन रामपुर–१० हाइब्रिड जातको मकैको बीउ उत्पादन भएको थियो । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमसँगको सहकार्यमा देशका विभिन्न सहकारी तथा कम्पनीहरुले बीउ उत्पादन गरेका हुन् । गत बर्ष झापाको गौरादहमा रहेको महारानीझोडा साना किसान सहकारी संस्थाअन्तर्गतको नमुना खेती सहकारीले ४ टन बीउ उत्पादन गरेको थियो । चार बर्षअघि सन् २०१७ मा तयार भएको रामपुर–१० किसानले रुचाएको पाएपछि यसको व्यवसायिक बीउ उत्पादनमा जोड दिइएको छ । समुद्री सतहदेख ७०० मिटर उचाईसम्म हाइब्रिड रामपुर–१० जातको मकैको खेती गर्न सकिने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले जनाएको छ । नेपालमै विकास भएकाले नेपाली हावापानी सुहाउँदो छ । यो उच्च तापक्रम पनि सहन सक्ने जात हो ।
मकै नेपालको मुख्य बालीभित्र पर्दछ । नेपालमा मकै खेती हुने कुल ९ लाख ४० हजार हेक्टरमध्ये १५ प्रतिशतमा हाइब्रिड जातको मकैको खेती गरिन्छ । हाइब्रिड मकैको बीउ देशभित्र उत्पादन गर्न नसक्दा बर्सेनि करोडौं मूल्यको बीउ आयात गर्नुपर्ने अवस्था छ । उत्पादन र उत्पादकत्व बढाउन हाइब्रिड जातमा जानुको विकल्प नभएको कृषि वैज्ञानिकहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!