काठमाडौं । प्रहरी संगठनका लागि देशको सातै वटा प्रदेशका प्रमुख फेरिएका छन् । १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ भने सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहलाई दिइएको छ ।
पछिल्लो समय उनी प्रदेश नम्बर २ प्रहरी कार्यालयको नेतृत्वमा थिए । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो । हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ ।
गृहले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ । प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य पठाइएका छन् । कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेललाई जिम्मेवारी दिइएको छ ।




