विराटनगर, ८ असार । कोरोना महामारीका कारण प्रशासनले जारी गरेको निषेधाज्ञामा पनि मोरङ लागुऔषध कारोबार रोकिएको छैन । सोमबार मात्रै मोरङको सुनवर्षीमा पाँच जना लागुऔषधसहित पक्राउ परेका छन् ।
सुनवर्षी नगरपालिका–८ विश्वकर्मा चौकमा ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी ७ का ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० वर्षीय महेश चौधरी र १९ वर्षीय भत्तेल भन्ने समीर चौधरी रहेका छन् ।
सोमबार बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको तिन जना सवार रहेको प्र.न.१–०२–०४५ प ३९७३ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गरेको थियो । शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट १४ ग्राम ब्राउन सुगर फेला पारी मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
यसैगरी,सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकमै सोमबार राति ९ः१५ बजेतिर दुई जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषध पथरीशनिश्चरे नगरपालिका–४ का २५ वर्षीय प्रकाश लिम्बू र २० वर्षीय बिमल तामाङलाई पक्राउ गरेको हो । दक्षिणबाट आउँदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाइकलमा सवारी उनीहरूको साथबाट डाइजेल्याब १० पिस, फेनारगन १० पिस, आइपिइएल १० पिस र ट्रमोल २०० ट्याब्लेट फेलापारी मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका पाँचै जनामाथि इलाका प्रहरी कार्यालय रङ्गगेली लगे थप अनुन्धान भइरहेको डिएसपी राईले जानकारी दिए ।




