धरान, ११ असार । सुनसरीको धरानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–९ कि ३० वर्षीया आस्मा खातुन र धरान–२ का ३५ वर्षीय मुन्नाप्रसाद मण्डल रहेका छन् ।
उनीहरुलाई धरान–१ पुरानो बजारबाट बिहीबार अपराह्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हिजो अपराह्न साढे ४ बजे कोठामा राखेर लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
खातुनको कोठामा लुकाई राखेको स्पास्मो–प्रोक्सिभन प्लस ३०६ पत्ता (२४४८ क्यापसुल) फेला परेको थियो । साथै मण्डलको साथबाट पनि सोही लागुऔषध १८ पत्ता (१४४ क्याप्सुल) फेला परेको थियो । पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





