२०८२ आश्विन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १४ असार । प्रदेश १ प्रदेशसभाको सोमबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको छ । नेकपा माओवादी केन्द्रका सांसदहरूले संसदमा उठेर विरोध जनाएपछि बैठक मङ्गलबारसम्मका लागि स्थगित भएको हो ।

आइतबार आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले ओखलढुङ्गाका सांसद मोहनकुमार खड्कालाई रोस्ट्रमबाटै अमर्यादित शैलीमा गाली गरेको भन्दै विपक्षी दल माओवादी केन्द्रका सांसदहरूले अवरोध गरेका थिए ।

आइतबारको बैठकमा अर्थ समितिका सभापति मोहनकुमार खड्कालाई मन्त्री गुरुङले व्यक्तिगत रूपमा अमर्यादित ढङ्गले लाञ्छना लगाएको र संसदीय मर्यादा उल्लङ्घन गर्दै प्रस्तुत भएको भन्दै माओवादी केन्द्रले संसदमा माफी नमागेसम्म बैठक चल्न नदिने बताएको छ ।

माओवादी केन्द्रले मन्त्री गुरुङले संसदमा आएर क्षमायाचना गर्नुपर्ने र अमर्यादित भनाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेको हो । विषयगत छलफलका क्रममा सोमबार सामाजिक विकास मन्त्रालयको विनियोजनमाथि छलफल गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनुअगावै सांसदहरूले आ–आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले दलको तर्फबाट भनाइ राख्न समय दिएका थिए ।

संसदमा बोल्ने नेकपा मााओवादी केन्द्रका सांसद रामकुमार राईले भने, ‘मन्त्री अमर्यादित ढङ्गबाट प्रस्तुत हुनुभएको छ, उहाँले संसद्को रोष्ट्रममै आएर माफी माग्नु पर्छ र अमर्यादित भनाइ रेकर्डबाट हटाइनुपर्छ अन्यथा संसदको कारवाही अगाडि बढ्न सक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!