२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १५ असार । सुनसरीको सीमा नाका कटाएर भारतको वीरपुर पुर्याइएको स्याउको विषयमा गठित छानबिन समितिले ११ दिनपछि प्रतिवेदन बुझाएको छ । कोरोना महामारीका कारण सीमानाका सिल भएको अवस्थामा नेपाली नम्बर प्लेटका तीनवटा मिनी ट्रकमा १३ सय ५० कार्टुन स्याउ भारत पुर्याइएको प्रकरणमा नेपाल प्रहरीको संलग्नताबारे छानबिन समितिले प्रतिवेदन बुझाएको हो ।

समितिले मङ्गलबार बुझाएको उक्त प्रतिवेदनमा निलम्बन गरिएका दुई प्रहरी निर्दाेष रहेको र चार जना दोषी देखिएकाले कारबाहीको सिफारिस गरिएको छ । भारतीय प्रहरीले जेठ ३० गते भारत बिहारको वीरपुरमा नेपाली नम्बरका तीनओटा गाडीबाट १३ सय ५० कार्टुन चिनियाँ स्याउ बरामद गरेको थियो ।

सुनसरीको नाकाबाट स्याउ भारत पुगेपछि उक्त घटनामा सुनसरी प्रहरीको मिलेमतोमा तस्करी भएको आशंका गरिएको हो । सुनसरीको लौकही नाकाबाट रातारात तीन वटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुटाछुट्टै समिति बनाएर छानबिन गरिरहेका थिए ।

सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको थियो । स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित नेपाल प्रहरीको टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

घटनालगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले तत्कालीन सङ्घीय प्रहरी इकाइ कार्यालयका एसएसपी चौधरीको नेतृत्वमा पाँचसदस्यीय छानबिन टोली गठन गरेको थियो । छानबिनपछि टोलीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । आफूहरूको ११ दिने अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान गरी स्याउ तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीका लागि सिफारिस गरिएको अनुसन्धान अधिकृत एसएसपी चौधरीले बताए ।

उनका अनुसार जेठ २९ गते राति १२ र १ बजेको बीचमा हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चिनियाँ स्याउ बोकेका ट्रक भारतसम्म पुर्याइएको थियो । घटनापछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरीलाई निलम्बन गरेको थियो ।

अनुसन्धानको क्रममा सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई थापा र कोशी कटानका असई चौधरी निर्दोष देखिएका छन् भने अस्थायी प्रहरी चौकी श्रीपुरका असई कार्की र हवल्दार वीरेन्द्र यादव अनुसन्धानको क्रममा दोषी देखिएको एसएसपी चौधरीले जानकारी दिए । साथै अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान गरी चारजना प्रहरी अनुसन्धानका क्रममा दोषी देखिएकाले उनीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह वाहिनी मुख्यालय पकली सुनसरीले समेत एसएसपी प्रकाश थापाको नेतृत्वमा तीनसदस्यीय छानबिन टोली गठन गरेकोमा उक्त टोलीले समेत अनुसन्धान प्रतिवेदन बुझाएको छ । छानबिन समितिले प्रतिवेदन बुझाएको र आवश्यक छानबिन भइरहेको सशस्त्र प्रहरी बल वराह वाहिनी पकलीका डीआईजी वंशीराज दाहालले जानकारी दिए । प्रतिवेदनका आधारमा दोषी देखिएका सशस्त्र प्रहरीलाई कारबाही हुने उनले बताए ।

भारतसँग खुला सिमा जोडिएको सुनसरी सुरक्षा संवेदनशिलता तथा राजस्व छली, सीमा वारपार चोरी पैठारी लगायतका दृष्टिले सुरक्षाको उच्च प्राथमिकतामा पर्ने तराईको महत्वपूर्ण र संवेदनशील जिल्ला हो । सुरक्षा संवेदनशिलता तथा राजस्व छलीको हिसावले महत्त्वपूर्ण मानिएको सुनसरीमा करिव एक बर्ष यता प्रहरीको काम कारवाही फितलो रहँदा सीमा सुरक्षामा बाक्लो संख्यामा प्रहरी परिचालन हुँदा समेत जिल्लाबाट पेट्रोलियम पदार्थ, हरियो मटर, सुपारी तथा मरिचको भारत तर्फ तस्करी बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!