
काठमाडौँ, १५ असार । नेपाली काङ्ग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशाङ्क कोईराला र प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा भएको तीन नेताको भेटघाटको क्रममा आगामी दिनमा महाधिवेशन केन्द्रीत छलफलको दायरालाई फराकिलो पार्न भन्दै शुक्रबार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्न सहमत भएका हुन् ।
सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेता सिंहले पार्टीमा सबैको चाहाना पार्टी राम्रोसँग सञ्चालन हुनुपर्ने र प्रजातान्त्रिक तवरले सञ्चालन गर्नुपर्ने रहेको भन्दै छलफलको दायरा बढाउनको निम्ति केन्द्रीय सदस्यसँग बैठक गर्न लागिएको बताए ।
उनले १३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका नेताहरुसँग पनि अलग्गै छलफल गर्ने जानकारी दिए । तीन नेताको भेटघाटमा पाउनुपर्नेले क्रियाशिल सदस्यता पाउनुपर्ने र छानविनमा रहेका सदस्यहरुलाई आवश्यक विधि, प्रक्रिया पुरा गरेर क्रियाशिल सदस्यता दिनुपर्ने विषयमा छलफल भएको पनि उनले बताए ।