 
							विराटनगर, १६ असार । विराटनगरका एक चिकित्सकको घरमा चोरी भएको छ । कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा सङ्क्रमितको उपचारमा खटिएका डाक्टर पुरन चन्द साहको घरमा चोरी भएको हो ।
कोसी कोभिड उपचार केन्द्रमा ड्युटीमा खटिएको माैका पारेर कोसी अस्पतालका मेडिकल अधिकृतसमेत रहेका साहको घरमा चोरी भएको हो । विराटनगर–४ जामुनगाछीमा रहेको घरको मुल ढोकामा लगाएको ताला फोरेर करिब आठ लाख मूल्य बराबरको धनमाल चोरी भएको साहले जनाएका छन् ।
ड्युटीमा खटिएको मौका पारे घरको ढोका फोरेर दराजमा राखिएको धनमाल चोरी भएको डा. साहले जानकारी दिए । डा. साहका अनुसार दराजभित्र राखिएका सुनचाँदी, नगदलगायत गरेर आठ लाख मूल्य बराबरको धनमाल चोरी भएको हो । घरको दराजभित्र राखेको एमबीबीएस उत्तीर्ण गरेको प्रमाणपत्र (सर्टिफिकेट) पनि हराएको उनले जानकारी दिएका छन् ।
डा. साह ११ दिनदेखि कोसी अस्पतालमै कोरोना सङ्क्रमितको उपचारमा खटिएका थिए भने उनकी श्रीमती पनि माइत गएकी थिइन् । दुवै जना घरमा नभएका कारण चोरीको यकिन मिति पत्ता लाग्न सकेको छैन । घरको ताला फुटाएको देखेर छिमेकीले खबर गरेपछि घटनाका बारेमा थाहा पाएको डा. साहले बताए ।
साहले घटनाका बारेमा प्रहरीलाई जानकारी दिइसकेको बताए । यता, प्रहरीले पनि घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ । चोरीमा संलग्नको पहिचान हुन नसकेको र घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान थालिएको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले


 
										 
												 
												 
												 
												 
												 
												
 
											 
											
