विराटनगर, १८ असार । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको मिति तोकेपछि देशैभरि कांग्रेसको सरगर्मी बढ्दै गएको छ । केन्द्रीय तहमै पनि केन्द्रीय सदस्यहरुको भेटघाट बाक्लिएको छ । देशैभरि कांग्रेसको सरगर्मी बढिरहँदा कांग्रेसको गढ मानिने सुनसरी जिल्ला पनि तातेको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकिनै लाग्दा उम्मेदवारी घोषणाका कारण पनि सुनसरी कांग्रेसमा सरगर्मी बढेको हो ।
पछिल्लो समय सुनसरी कांग्रेस सभापतिमा तीन-चार जनाको नाम सुनिँदैआए पनि त्यसमध्ये दाबेदार मानिन्छन् केदार भण्डारी । दुई कार्यकाल सुनसरी कांग्रेस सचिवको अनुभव संगालिसकेका भण्डारीले यसपटक सभापतिको उम्मेदवारी दिएका छन् । कांग्रेसको गढको रूपमा सुनसरीलाई नमूना जिल्ला मानिन्छ र यसलाई अझ बलियो बनाउने भण्डारीको योजना छ । त्यसबाहेक भण्डारीको सभापतिमा दाबेदारिता किन ? यस विषयमा ग्रामीण खबरले उनीसँग गरेको संक्षिप्त कुराकानी ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा देशैभरि तयारी तीव्र छ, सुनसरीको अवस्था के छ ?
आगामी भदौ १६ देखि १९ गतेका लागि तोकिएको महाधिवेशनको तयारी देशैभरि छ । अझ सुनसरीमा यसले तीव्रता नपाउने कुरै भएन । कांग्रेसको गढ मानिने यो क्षेत्रमा व्यापक तयारी छ । हामीले क्रियाशील सदस्यता वितरणको काम सकेर केन्द्रमा पठाएका छौँ, नवीकरणको काम सकिसक्यौँ ।
केही उजुरी परेको छ, क्रियाशील सदस्यता वितरण गर्दा केही विवाद परेको छ । सिफारिस भएअनुसारको नाम आएन भनेर उजुरीहरू परेका छन् । क्रियाशील सदस्यता वितरणको विषयमा धेरै ठाउँबाट हामीले सिफारिस गरेको नाम आएन, सिफारिसभन्दा अलग मान्छेको नाम क्षेत्रले केन्द्र पठायो भनेर उजुरी भएको छ । ती सबै विवाद केन्द्रले अध्ययन गरिहेको जानकारी पाएका छौँ । केन्द्रले उजुरीहरू ठीक–बेठिक भनेर निकास निकालिसकेपछि ती विवाद समाधान हुनेछन् ।
सुनसरीको क्रियाशील सदस्यको संख्या कति पुगेको छ, नवीरकरण गर्नेको संख्या कति छ ?
सुनसरीमा नवीरकरणको १६ हजार ४५७ जनाको भएको छ । नयाँचाहि यति नै भयो भनेर यकिन विवरण हामीलाई उपलब्ध गराइएको छैन । नेटमा १२ हजार ६७४ नयाँ दर्ता भएको देखिन्छ । त्यति जिल्लाबाट सिफारिस भएका हुन् । त्यसमध्ये कति सदर हुन्छ, कति बदर हुन्छ । अब छानबिन भएर एउटा संख्या कायम हुन्छ ।
सदस्यता वितरणमा कृत्रिम समस्या देखिएको कारण केही ढिलाइ पनि भयो । गुटअनुसार र आफ्नालाई मात्र सदस्यता दिने भन्ने समस्या पहिलेदेखिकै हो । यो समस्या यथावत छ । तर बाक्लो रूपमा नभएर यो समस्या अहिले पातलो छ । त्यै पनि मलाई जहाँसम्म लाग्छ, यो यी विवादहरु चाँडै समाधान हुनेछन् । निश्चित प्रक्रिया पुगेकाबाहेक अरूले स्थान पाउँदैनन् पनि ।
सभापतिमा उम्मेदवार दर्ता गर्नुभएको छ, किन सुनसरी कांग्रेस सभापतिमा तपाईँको उम्मेदवारी ?
मैले दुई कार्यकाल नेपाली कांग्रेस सुनसरीको सचिव भएर काम गरिसकेको छु । दुई पटक सचिव भइ साथीभाइसँग सहयोग मागेर सभापतिमा इच्छा राख्नुको कारण भनेको पार्टीको नेतृत्व गरेर पार्टीलाई थप सहयोग गर्न हो । राजनीति भनेको आस्था र विश्वासको कुरा हो । कमाउने भएर जागिर, व्यापार–व्यवसाय गर्नुपर्छ । तर सेवा गर्नका लागि राजनीति नै उत्तम विकल्प हो । सेवा गरौँ भनेर विशुद्ध भावना लिएर म अगाडि बढेको छु । यो क्रमलाई जिवित रहुञ्जेल कायम राख्नेछु ।

पार्टीगत रूपमा भन्नुपर्दा कांग्रेसको जति योगदान र महत्त्व छ । त्यो खस्केका कारण अघिल्लो संसदीय निर्वाचनमा प्रतिनिधिभा तथा प्रदेशसभामा ठूलो पराजय भोग्नुपर्यो । त्यसै कारण पनि देश कम्युनिष्टको कु–चक्रमा फसेका छौँ । कम्युनिष्टले दुई तिहाई मत पाउँदा पनि देश विकास गर्न सकेनन् र सक्दैनन् पनि । अब कांग्रेस नै आशा र भरोसाको केन्द्र हो । तर त्यतिबेला पनि सुनसरी कांग्रेस बलियो थियो । निर्वाचनका हिसावले हेर्दा पनि १२ स्थानीय तहमध्ये प्रमुख ९ वटामा हामीले जितेका छौँ । जिल्ला समन्वय समिति पनि हाम्रो छ । कांग्रेसले प्रदेशसभामा पनि तीन क्षेत्रमा हामीले जितेका छौँ ।
अरू सभापतिका उम्मेदवारका बीचमा आफूलाई कसरी दाबेदार मान्नुहुन्छ ?
मैले देशकै १ नम्बर सभापति राजीव कोइरालासँग दुई कार्यकाल बिताएको छु । म दुई पटक सचिवमा निर्वाचित भएको नाताले पनि मेरो उम्मेदवारी आएको हो । मैले अघि पनि भनेँ, सुनसरी कांग्रेसको गढ हो । कांग्रेसलाई अझ बलियो बनाएर सुनसरीलाई कांग्रेसमय जिल्ला बनाउने, सदस्यलाई सङ्गठित कसरी बनाउने, आन्तरिक गुट कसरी कम गर्ने, गुट नबनाउनेलाई कस्तो भूमिका दिने, जिल्लामा बढेको अशान्ति र असुरक्षाका विषयमा कसरी अगाडि बढ्ने भन्नेजस्ता विषय मैले उठाउन सक्छु । जिल्लाको र पार्टीको सेवा गर्न सक्छु भन्ने मान्यताका साथ मैले कांग्रेस सुनसरीको नेतृत्वमा दाबेदारिता प्रस्तुत गरेको हुँ ।
यसअघिका सभापतिबाट अपेच्छानुरुप काम भयो ? अघिल्ला नेतृत्वकर्ताबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
अत्यन्तै सन्तुष्ट छु । अघिल्लो दुई पटक सभापतिको भूमिकामा रहनुभएका राजीव कोइराला दाइ देशकै सफल सभापति हुनुहुन्छ । हाम्रो विधानअनुसार दुई कार्यकालभन्दा बढी सभापतिको रूपमा बस्न पाइँदैन । यदि प्रावधानमा त्यो थिएन भने दाइ अझै पनि सभापतिमै सर्वस्विकार्य रूपमा रहनुहुन्थ्यो होला । उहाँले दुई कार्यकाल प्रभावकारी तरिकाले बिताउनुभयो । राजीव कोइरालाको नेतृत्वमा भएको जिल्ला कार्यसमिति, जसको सचिव म पनि थिएँ । उहाँकै पछि रहेर काम गर्दा मैले धेरै कुरा सिकेको छु ।
पार्टीलाई मिलाएर लानुपर्छ, पार्टीलाई साङ्गठनिक बनाएर लानुपर्छ र पार्टीलाई जिताउनुपर्छ भन्ने मान्यता उहाँमा छ । यसैले त म उहाँलाई देशकै १ नम्बर सफल सभापति मान्छु । मैले मान्ने मात्र होइन सत्य नै यहीँ हो । समग्रमा भन्नुपर्दा अघिल्ला कार्यकालबाट अपेक्षाअनुरुप काम भएको पाएको छु । त्यतिमात्र नभएर अघिल्ला नेतृत्वकर्ताबाट धेरै कुरा सिकेको छु । मैले नेतृत्व गर्न पाएँ भने त्यही सिकाइ व्यवहारमा उतार्नेछु ।
सभापति बन्नु भएको खण्डमा तपाईँका आगामी योजनाहरू के–के हुन सक्छन् ?
मैले धेरै विषय अघि पनि भनिसकेँ । राजनीति भनेको आस्था र विश्वासको कुरा हो । यो व्यापार गर्ने थलो होइन । तर पछिल्लो समय पार्टी कमजोर बनेर गइरहेको देखिएको छ । यसलाई सुधार्नका लागि म लागिपर्नेछु । पार्टी र जनताको सेवामा तल्लीन रहन्छु । अघिल्ला २ पटक सचिव पदमा रहँदा पनि मैले राम्रो काम गरेकोमा विश्वस्त छु । त्यहीँ क्रमलाई सभापतिको भूमिकामा रहेर पनि निरन्तरता दिन चाहन्छु ।
त्यसबाहेक पार्टीलाई बलियो बनाउने त छँदैछ, भ्रष्टाचारविरुद्ध खरो रूपमा प्रस्तुत हुनेछु । अब कांग्रेसले जनता र संविधानको जिम्मा लिएर अगाडि बढ्नेछ, त्यसमा मेरो पनि भरपुर साथ रहन्छ । यस्तै शान्ति सुरक्षा कायम गर्न लागिपर्नेछु । योजना धेरै छन् । यति भन्न चाहन्छु कि, राजीव कोइराला दाइकै लयमा जाने मेरो उद्देश्य छ । उहाँलाई हामीले ‘हेल्पिङ ह्यान्ड’का रूपमा काम गरेका थियौँ ।
उहाँसँगको दुई कार्यकालको सङ्गत र ज्ञानलाई सदुपयोग गर्दै अग्रजहरूको सुझावमा पार्टीलाई अझ सशक्त बनाएर अगाडि लान सक्छु । यसका लागि मेरा साथीहरूले मलाई सभापतिमा जिताउनुहुन्छ भन्ने आश गरेको छु । मलाई लाग्छ, साथीहरूको सहयोगमा नै मैले सुनसरीका कांग्रेसको नेतृत्व गर्न पाउनेछु र उहाँहरूकै सहयोगमा कांग्रेसको गढ सुनसरीलाई थप बलियो बनाउन सक्षम हुनेछु । जय नेपाल ।


										
												
												
												
												
												
												
											
