२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, असार २० गते । किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई २० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ । सरकारले ५ प्रतिशत ब्याजमा १० वर्षका लागि २० करोड रुपियाँ ऋण दिएको हो । वार्षिक दुई/दुई करोडको दरले सो रकम फिर्ता गर्नुपर्ने सर्त रहको छ ।

लामो समयदेखि किसानलाई भुक्तानी नगरेका कारण आर्थिक रूपमा डीडीसीलाई गाह्रो भइरहेको थियो । कोरोनाका कारण दूध तथा दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई भुक्तानी गर्न डीडीसीलाई समस्या परेको थियो । त्यसपछि डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सरकारसँग सहुलियत ऋण मागेको थियो ।

सरकारबाट प्राप्त रकम वितरण गरे पनि किसानलाई दिनुपर्ने ४५ करोड रुपियाँ अझै बक्यौता रहेको छ । डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलका अनुसार सरकारबाट प्राप्त रकमले चैत १५ सम्मको बक्यौता रकम किसानलाई वितरण गर्ने कार्य भइरहेको छ ।

डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाका अनुसार किसानलाई तिर्नुपर्ने तीन महिनाको बक्यौता रकम ४५ करोड अझै बाँकी छ । उनले भने,  “त्यो ४५ करोड रुपियाँ पनि नियमित भुक्तानी भइरहेको छ । दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेका कारण किसानको भुक्तानी दिनका लागि अब पहिलाजस्तो समस्या हुने छैन । ”

सरकारले उपलब्ध गराएको २० करोड रुपियाँले डीडीसीलाई आत्मबल बढाएको र अब नियमित भुक्तानी भइरहेका कारण त्यस्तो समस्या नहुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!