२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ असार । मोरङको रङ्गेली नगरपालिकामा एक पुरुषको शव भेटिएको छ । घरबाट काम गर्नका लागि भनेर निस्किएका रङ्गेली नगरपालिका–३ का ५१ वर्षीय हिमप्रसाद धितालको शव सोमबार बिहान खोलामा भेटिएको हो ।

गत शनिबार काम गर्न घरबाट निस्किएका उनको शव आज बिहान साढे आठ बजे गडिया खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जील मुकारुङले जानकारी दिए । परिवारको सूचनापछि खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय बेतौनाको प्रहरी टोलीले आज बिहान ८ः३० बजेतिर गडिया खोलामा उनको शव मृतअवस्थामा फेला पारेको हो ।

‘घरबाट एक किलोमिटर पर रहेको खोलामा शव फेला परेको हो’, ग्रामीण खबरसँग डिएसपी मुकारुङले भने, ‘अहिले पोस्टमार्टमका लागि रङ्गेली अस्पताल पठाएका छौँ । रिपोर्ट आएपछि बाँकी कुरा खुल्नेछ ।’

उनका अनुसार खोला किनारमा झाडीमा अड्किएको र घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यतामा रहेका उनी शनिबार घरबाट काममा जान भनेर निस्किएको परिवारले जनाएको छ ।

बाढी आएको खोला तर्ने क्रममा धिताललाई खोलाले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको डिएसपी मुकारुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!