२०८० चैत्र ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ असार । मोरङको विराटनगरमा निःशुल्क डायलाइसिस सेवा सञ्चालनमा आउने भएको छ । लायन्स क्लब अफ इन्टरनेशनल फाउन्डेसन, लायन्स क्लब अफ विराटनगर मोरङ्ग र लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनल्सको संयुक्त लगानीमा विराटनगर–२ स्थित मोरङ सहकारी अस्पतालको निर्माणाधीन भवनमा उक्त सेवा सञ्चालनमा ल्याइने भएको हो ।

मिर्गौला रोगीका लागि निःशुल्क हेमोडायलेसिस सेवा प्रदान गर्ने योजनासहित सोमबार विराटनगरमा ‘लायन्स मोरङ हेमोडायलेसिस सेन्टर’ को उद्घाटन गरिएको छ । सात शैय्या र सात डायलेसिस मेसिन राखिएको सो सेन्टर डेढ करोडको लगानीमा निर्माण भएको सेन्टर निर्माण समितिका अध्यक्ष विकास अधिकारीले जानकारी दिएका छन् ।

‘विशेषगरी आयस्रोत कम भएका मिर्गौला रोगीहरूको सहज उपचार होस् भन्ने हेतुले सेन्टर सञ्चालनमा ल्याइएको हो,’ अधिकारीले भने, ‘विशुद्ध सेवाभावले सुरु गरिएको हो, भदौबाट हामी सेवा प्रवाह गर्न तयार हुनेछौँ ।’ सेन्टरमार्फत दिनमा २१ जनाले सेवा लिनसक्ने उनको भनाइ छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् लायन्स जिएटी एरिया लिडर खगेन्द्र सिटौलाले आवश्यकताअनुसार अन्य ठाउँहरूमा पनि अस्पतालहरूसँग सहकार्य गर्दै यस्ता सेन्टर सञ्चालनमा ल्याउन लायन्स क्लब सधैँ तयार रहेको बताएका छन् ।

कार्यक्रममा नै बोल्दै प्रदेश १ का मुख्य न्यायाधीवक्ता एवम् मोरङ सहकारी अस्पतालका सञ्चालक चुडामणि आचार्यले सेन्टर बनाउने कार्यक्रम अस्पतालसम्म ल्याइदिने र यसलाई सहज रूपमा निर्माण सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!