धरान, २३ असार । सुनसरी धरान उपमहानगरपालिका भिन्दाभिन्दै स्थानबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । मङ्गलबार बेलुकातिर इलाका प्रहरी कार्यालय धरानले तीन युवालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
हिजो बेलुका ७ बजे धरान–६ तीनकुने जंगलबाट धनकुटा नगरपालिका ६ का २१ वर्षीय सुमन कार्की र धनकुटा नगरपालिका ९ का २१ वर्षीय सुदीप राई पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र१–०६–००१प ००१८ नम्बरको मोटरसाइललाई चेकजाँच गर्दा उनीहरूका साथबाट डाइजेल्याप ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल, एभिल ५ एम्पुल र फेनर्गन ५ एम्पुल बरामद भएकोले थियो ।
मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान ८ गैरीटोल बस्ने २५ वर्षीय सन्तोष लिम्बूलाई ब्राउनसुगरसहित मङ्गलबार बेलुका नै प्रहरीले पक्राउ गरेको हो । हिजो बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय धरान र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई घरमा लुकाई छिपाई राखेको ब्राउन सुगर ४ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।




