२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ असार । सुनसरीको बर्जु गाउँपालिकामा लगाइएको स्ट्रबेरी खेतीमा वर्षाले ठूलो क्षति गरेको छ । बर्जु गाउँपालिका–४ हसनपुरमा आइएमएस एग्रो प्रालिले अढाइ बिघामा लगाएको स्ट्रबेरीको माउबोट ‘मदर प्लान्ट’ कुहिँदा १२ लाखको क्षति भएको इन्चार्ज दीपेश खड्काले जानकारी दिए । उनका अनुसार बुधबारदेखि शनिबार बिहानसम्म परेको लगातारको वर्षाका कारण पानी जम्दा करिब ३० हजार माउबोट मरेका थिए । अझ, दुई सिजन उत्पादनको अपेक्षा गरिएको बोट मरेको र फर्स्ट जेनेरेसनको बेर्नालाई पनि प्रभाव पारेको खड्काको भनाइ छ ।

जम्मा ७० हजार माउबोटमध्ये बाढीमा नपरेपनि पानी डुबानमा परेर ३० हजार बोट मोदरप्लान्ट कुहिएका छन् भने अरू ४० हजारको हाराहारीमा मात्र बाँचेका छन् । ती पनि अब केही दिन झरी परे मर्नसक्ने खड्काले बताए । त्यसबाहेक पानीका कारण मेवा र कागतीका केही बोट पनि डुबानमा परेको बताउँदै उनले त्यहाँबाट पनि क्षति हुनसक्ने बताए ।

आइएमएस एग्रोले अघिल्लो वर्षदेखि हसनपुरमा २५ बिगाहा क्षेत्रफलमा मेवा, कागती र स्ट्रबेरी खेती थालेको थियो । चार करोड लगानीमा खुलेको उक्त फर्ममा ८ हजार मेवा र १२ हजार बोट कागती लगाइएको छ । अघिल्लो वर्षदेखि नै स्ट्रबेरी उत्पादन भइ बजारमा बिक्री थालेको उक्त कम्पनीले मेवा भने यसपटकदेखि बेच्न थालेको छ । स्ट्रबेरी पहिलो सिजनबाटै बेच्न सुरु गरेको भएपनि बजार अभावका कारण ६० प्रतिशत फल खेर फालिएको इन्चार्ज खड्काको गुनासो छ ।

‘उत्पादित स्ट्रबेरीको बजार छैन । विराटनगर, इटहरी र धरान यसको मार्केट हो तर पछिल्लो समय धेरै ठाउँमा उत्पादन हुनेहुँदा बजारमा प्रतिस्पर्धा बढेको छ,’ उनले भने । स्ट्रबेरी सेवन गर्ने परिपार्टी नेपालमा पूर्ण रूपमा बनेको अवस्था छैन । चाख्नका लागि मात्र मान्छेले स्ट्रबेरी किन्ने गर्छन् । यसैकारण ठूलो ठाउँमा व्यवसायिक उत्पादन गर्न समस्या हुनेगरेको छ ।

महँगो भएका कारण ग्रामीण भेगका मानिसले अन्य फलजस्तो किनेर खान सक्दैनन् । सहर केन्द्रित हुँदा पनि आधाजति उत्पादन बिक्री नहुने जोखिम बढ्छ । यस्तै भनाइ छ, कृषिमै अध्ययन गरेका इन्चार्ज खड्काको पनि । ‘धरान, इटहरी र विराटनगर गरी तीन स्थानमा धेरै ठाउँको स्ट्रबेरी बजारका लागि प्रतिस्पर्धामा उत्रन्छन्’, उनले थपे, ‘गाउँमा बिक्री खासै हुँदैन, उही चाख्नका लागि मात्र हो । सहर केन्द्रित हुँदा कम्पिटिसन गर्न गाह्रो छ ।’ अघिल्लो सिजन आइएमएस एग्रोले करिब २०० क्विन्टलसम्म स्ट्रबेरी उत्पादन गरेको थियो । तर बजार अभावका कारण १२० किलोसम्म मात्र बेच्न सकिएको खड्काले जनाए ।

सुरुमा ६०० रुपैयाँ किलोले बिक्री भएपनि पछि बजार पाउन छोडेपछि पाँच सय हुँदै साढे चार सयसम्ममा बेच्नुपरेको उनले बताए । बजार अभावका कारण अघिल्लो सिजन ठूलो नोक्सानी ब्यहोरेको उक्त फर्मले यसपटक वर्षाका कारण ठूलो क्षति भोग्नुपरेको उनको गुनासो छ । अझ, पहिलो सिजन भएकाले बीमा नगरेको कारण पूर्ण रूपमा क्षति कम्पनीले नै ब्यहोर्नुपरेको उनले दुःखेसो गरे । कम्पनीले हाल बेर्ना उत्पादन गरिरहेको छ । त्यसका लागि एग्रोा नर्सरीको निर्माणमा जुटेको छ । कम्तिमा ५० हजार बिरुवा नर्सरीमा राख्ने योजना एग्रोको छ ।

स्ट्रबेरीबाट भोगेको घाटा अब मेवा बिक्रीबाट उक्सिने योजनामा रहेको बताउँदै खड्काले मेवा गाउँघरमै बिक्री भइरहेको सुनाए । गाउँघरमै प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री भइरहेको जनाउँदै उनले भने, ‘मेवाले उक्साउँछ कि भन्ने लागेको छ । अहिले सुरुआत हो । दैनिक १०० दानासम्म मेवा उत्पादन हुन्छ । विस्तारै बढ्ला । सानै बोटमा थेगिनसक्नु फलेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!