
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले काठमाडौँमा मुख्यमन्त्री सम्पर्क कार्यालय आवश्यक रहेको बताएका छन् । शुक्रबारको प्रदेशसभा बैठकका क्रममा मुख्यमन्त्री राईले काठमाडौँमा मुख्यमन्त्री सम्पर्क कार्यालय महँगो रहेपनि आवश्यक रहेको बताएका हुन् ।
केही समययता काठमाडौँमा मासिक तीन लाख ५१ हजार रुपैयाँ भाडा तिर्नेगरी खुलेको चर्चा चलेको थियो । त्यसबाहेक प्रदेशसभामै पनि सांसदहरूले यसबारे विभिन्न टीका–टिप्पणी गरेपछि मुख्यन्त्री राईले आफूलाई व्यक्तिगत रूपमा चाहिएर, आवश्यक परेर काठमाडौँमा सम्पर्क कार्यालय खोलिएको नभएर सरकारको इज्जत, प्रतिष्ठा र संस्थागत मर्यादाका लागि खोलिएको जनाए ।
‘सम्पर्क कार्यालय खुलेको विषयमा कुरा उठेको छ । यो सामान्य जस्तो मलाई लाग्छ । मलाई व्यक्तिगत रूपमा चाहिएर होइन, आवश्यक परेर काठमाडौँमा सम्पर्क कार्यालय खोलिएको होइन’, उनले भने, ‘सरकारको एउटा इज्जतका निम्ति, प्रतिष्ठाका निम्ति, संस्थागत मर्यादाका निम्ति काठमाडौँमा प्रदेशको एउटा सम्पर्क कार्यालय रहनुपर्छ भन्ने कुरा उठ्दा त्यो ठिक हो भन्ने महसुस भएको हो ।’
१८ महिनाअघि सम्पर्क कार्यालय स्थापना भएको बताउँदै उनले लकडाउनका कारण पूर्णरूपमा सञ्चालनमा नआएपनि लगभग सबै अफिसियल काम त्यही कार्यालयबाट गर्नेगरेको बताए । ‘निजी क्षेत्रलाई आकर्षित गर्न, वैदेशिक लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बैठक, छलफल गर्नुपर्ने, हाम्रा नीति कार्यक्रम र हाम्रा बजेटहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि हामीले पटकपटक बैठक बस्नुपर्ने, काठमाडौँ गइरहनुपर्ने अवस्थामा, सम्पर्क कार्यालय प्रदेश सरकारको इज्जतका निम्ति प्रतिष्ठाका निम्ति चाहिन्छ’, उनले थपे ।
‘यसमा करोडौँको निवासका निम्ति पैसा खर्च गरियो भन्ने कुराहरू पनि सुनेँ’, उनले भने, ‘तर कुरा त्यस्तो होइन । मिडियाले पनि उछालिराखेको जस्तो मैले पाएँ । काठमाडौँमा चाहिन्छ कार्यालय । अलि महँगो भयो होला । तर चाहिन्छ ।’