२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लम्की (कैलाली) असार २७ गते । कैलालीको घोडाघोडी नगरपालिका–८, तारानगरमा स्थानीय पहल देउवाले सात करोड लगानीमा बहुद्देश्यीय कृषि व्यवसाय सञ्चालनमा ल्याएका छन् । निम्न वर्गीय परिवारमा जन्मिएका देउवाले लामो सङ्घर्षपछि सञ्चालनमा ल्याएको व्यवसायले सुदूरपश्चिममै चर्चा पाउन थालेको छ ।

१४ वर्षकै उमेरमा भारतमा मजदुरी गर्न पुगेका देउवाले द्वन्द्वका कारण र पारिवारिक अवस्थाले उच्च शिक्षा अध्ययन गर्न नपाएको बताए ।  भारतमा केही वर्ष काम गरेपछि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचसाथ नेपाल आएका उनले होटल व्यवसाय, ग्यारेज सञ्चालन गरे तर दुवै व्यवसायबाट सन्तुष्ट भएनन् ।

विगत सम्झँदै भावुक बनेका देउवाले भने,“पुर्ख्याैली सम्पत्ति थिएन । बैङ्कबाट तीन लाख रुपियाँ कर्जा लिएर व्यवसाय सुरु गरेको थिएँ । दुवै व्यवसायमा सफल भइनँ, साथीभाइ, आफन्त सबैले अब रोडमा आउने भयो भनेको सुनेँ र साह्रै चित्त दुख्यो । ”

त्यसपछि पहलले कृषि व्यवसाय गर्ने सोच बनाए । २०७३ सालमा घोडाघोडी पोल्ट्री फार्म दर्ता गरेर २०७४ सालबाट लेयर्स जातका कुखुरा पाले । राष्ट्रिय माध्यमिक विद्यालय तारानगरको १७ बिघा जमिन वार्षिक चार लाख रुपियाँमा भाडामा लिएर बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गर्नुभएका देउवाले सुरुको केही वर्ष कृषिमा लगानीले नपुग्ने अनुभव सुनाए ।

“मैले फार्मकै नामबाट तीन करोड ऋण लिएर सुरुमा लेयर्स जातका १८ हजार कुखुरा पालेँ । अण्डा उत्पादन सुरु भएको सालमै कोरोना आयो, लामो समय लकडाउन हुँदा दाना पाइएन । १० हजार कुखुरा मरे भने आठ सय पेटी अण्डा गोदाममै सडे,” देउवाले भजे, “घाटा भए पनि हरेस खाइनँ, त्यसबाट एउटा मात्र व्यवसायमा सीमित नभएर अन्य व्यवसाय पनि गर्नुपर्छ भन्ने सिकेँ र माछा, बङ्गुर, बाख्रा पाल्ने सोच बनाएँ । ”

२०७७ सालमा देउवाले सन्देश एग्रिकल्चर एग्रिटेक नामको अर्को फार्म दर्ता गरे । त्यसपछि पाँच करोड ऋण थप गरेर बाख्रा, बङ्गुर, लोकल कुखुरा, हाँस, बट्टाई, कालिज, लौकाट, माछापालन थालेका छन् । त्यतिमात्र नभएर देउवाले तीन हजारभन्दा बढी चल्ला उत्पादन गर्ने ह्याचरी मेसिन किनेर हप्तामा दुई सयदेखि पाँच सयसम्म कुखुरा लौकाट, बट्टाई, हाँसका चल्ला उत्पादन गर्दै आएका छन् ।

देउवा भन्छन्, “सडेका अण्डा, मरेका कुखुरा, ह्याचरीबाट निस्केका अण्डाका खोस्टा माछा र बङ्गुरका लागि पोसिलो आहारा बन्छ । प्रशस्त जग्गा भएकाले बाख्राका लागि दुई बिघामा घाँस लगाएको छु । कृषि व्यवसाय गर्दै जाँदा एउटा व्यवसायमा मात्र सीमित हुनुभन्दा लगानी बढी लागे पनि बहुउद्देश्यीय व्यवसाय गर्दा मुनाफा राम्रो हुन्छजस्तो लाग्यो । ”

अहिले देउवाको फार्ममा कुखुराको अण्डाको राम्रो माग छ । १६ हजार कुखुराले उत्पादन गरेका अण्डा दैनिक बिक्री हुँदै आएका छन् । छ महिनामै ७० वटा खसी, बोकाबाट एक सयभन्दा बढी पुगेका छन् । बङ्गुर आठबाट एक वर्षमै ७० पुगेको छ । पोखरीमा माछा हुर्कंदै छन् । १७ बिघा क्षेत्रफलमा फैलिएको उनको कृषि फार्म रहरलाग्दो बनेको छ ।

बाहिरका १७ जना र घरका सात जनाले फार्ममा रोजगारी पाएका छन् । व्यवसाय नयाँ ढङ्गले अगाडि बढाउन खोजेकाले एक दुई वर्ष मुनाफाभन्दा पनि लगानीमै जाने देउवा बताउँछन् । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले देउवाको कृषि फार्मका लागि १५ लाख रुपियाँ अनुदान छुट्याएको छ ।

जीनवमा सफलताभन्दा असफलता बढी भोगेका देउवाले ऋणमै सही कृषि व्यवसायमा लागेपछि डेढ करोडको सुखड बजारमा घर किनेको बताए । निर्धक्क हुँदै देउवाले भने,  “जुन आगोले पोल्यो त्यही आगोले सेक्छ भन्छन् । त्यसैले आत्तिएको छैन, दुई वर्षपछि मुनाफा लिनेछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!