२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ असार । मोरङको बूढीगङ्गा गाउँपालिकामा कार दुर्घटनामा हुँदा जग्गा र हार्डवेयर व्यवसायीको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगअगाडि शनिबार राति भएको दुर्घटनामा हार्डवेयर व्यवसायी विराटनगर महानगरपालिका–३ का ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो राति ११ः४५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा आइतबार बिहान ५ः१५ बजे मृत्यु भएको हो ।

कार दुर्घटनामा परेर चालक बूढीगङ्गा –१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगर–३ का २० वर्षीय विवेक नेपाल घाइते भएको एसपी खतिवडाले बताए । प्रहरी स्रोतका अनुसार महाप्रसाद, भीम र सन्तोष जग्गा कारोबारी हुन् । घाइतेमध्ये मालपोत कार्यालयका अधिकृत विवेकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको विराट र न्युरोमै उपचार भइरहेको छ । चालकले मादक पदार्थ सेवन (मापसे) गरेर कार तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!