 
							विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले मोरङमा कार्यरत ६ पत्रकारलाई पुरस्कृत गरेको छ । सहकारी संस्थाले विराटनगरस्थित बिजमाण्डु अनलाइनका संवाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका संवाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख मोहम्मद सदरुल, न्युज २४ की संवाददाता तारा आचार्य, निगरानी अनलाइनकी राजकुमारी तामाङ र सिम्रिक एफएम पथरीकी एलिना दियालीलाई सहकारी संस्थाको दसौं स्थापना दिवस पारेर सम्मान गरेको हो ।
न्यौपाने र श्रेष्ठ २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको छ । २०७७ सालको ओमप्रकाश आर्थिक पत्रकारिता पुरस्कारबाट न्यौपानेलाई र २०७८ को श्रेष्ठलाई प्रदान गरिएको हो । यसभन्दा अगाडि यस पुरस्कारबाट इलामका पत्रकार भीम चापागाईं र काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरिएको थियो ।
यस्तै २०७७ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार सदरुललाई र २०७८ सालको पत्रकार आचार्यलाई प्रदान गरिएको छ । २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियाली मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएका छन् । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा २०७८ असार २१ गते सोमबार बसेको बैठकले तीनै पुरस्कारको घोषणा गरेको थियो । कोरोना महामारीका कारण नवौं स्थापना दिवस मनाउन नसकिएकोले २०७७ सालको पुरस्कार पनि यसै वर्ष प्रदान गरिएको हो ।


 
										 
												 
												 
												 
												 
												 
												
 
											 
											
