
विराटनगर, २८ असार । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदातलको फैसलाले संविधान र लोकतन्त्रलाई थप उर्जा र शक्ति प्रदान गरेको बताएका छन् । सोमबार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेसँगै कोइरालाले सामाजिक सञ्जालमार्फत उक्त निर्णयले संविधान र लोकतन्त्रलाई थप उर्जा र शक्ति प्रदान गरेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन–स्थापित गरेर संविधान र लोकतन्त्रलाई थप उर्जा र शक्ति प्रदान गरेको छ । यो ऐतिहासिक निर्णयको स्वागत गर्दछु । जय नेपाल ।’
सोमबार सर्वोच्चले संसद् पुनर्स्थापना गर्दै दुई दिनभित्र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएको हो ।
गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको थियो ।