काठमाडाैँ, ३१ असार । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक बिहीबार (आज) दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठकले जारी निषेधाज्ञाको बारेमा निर्णय लिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिएका छन् ।
अहिलेकै अवस्थामा निषेधाज्ञा जारी राख्ने वा थप क्षेत्र पनि खुकुलो बनाउनेमा बैठकले निर्णय गर्ने उनको भनाइ छ ।
यस्तै, लामो दूरीका सार्वजनिक सवारीलाई जोर–बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए । आज मध्य राति १२ बजेदेखि लामो दूरीका गाडी जोरबिजोर चलाउन दिने तयारी भइरहेकाे बताउँदै उनले यसबारे छलफल हुने बताए ।
साथै बैठकमा कोरोनाको पछिल्लो अवस्थाबारे पनि समीक्षा हुने उनले जनाए । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।




