२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, ३१ असार । सुनसरीको देवानगन्ज गाउँपालिकाले विकास निर्माणको अनुगमन गरेको छ । गाउँपालिकाले सातवटै वडामा निर्माणाधीन विभिन्न विकास निर्माणको स्थलगत अनुगमन गरेको हो । गाउँपालिकाले पालिका र सङ्घीय बजेटमा निर्माण भइरहेका विकास निर्माणको अनुगमन गरेको हो । विकास निर्माणका कामको प्रभावकारीता जाँच्नका लागि गरिएको अनुगमनको कार्यलाई निरन्तरता दिने पालिकाको योजना रहेको छ ।

मंगलबार पालिकाले मन्दिर, विद्यालयको भवन, स्वास्थ्यचौकीको भवन, सडक तथा पालिका भवनलगायतको अनुगमन गरेको थियो । अनुगमन गरिएका योजनामध्ये अधिकांश योजना निर्माणाधीन अवस्थामा छन् भने केही योजनामात्रै सम्पन्न भएका छन् ।

धेरै योजना बहुवर्षीय योजनामा रहेका कारण आगामी वर्ष निर्माण सम्पन्न हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईले बताए । उनका अनुसार निर्माण भएको भवनहरू भने चाँडै सञ्चालनमा ल्याइने भएको छ ।

देवानगन्ज गाउँपालिका–५ साहेबगन्जस्थित अमरसिंह माध्यमिक भवन निर्माण सम्पन्न भएको छ । प्रदेशकै नमूना प्राविधिक विद्यालय बनाउने योजनासहित विद्यालयमा ९८ लाख रुपैयाँको लागतमा विद्यालयको भवन निर्माण गरिएको हो । साथै, उक्त स्कुलमा १९ लाख ६७ हजार लाागतमा कम्पाउन्ड वाल निर्माण र शुद्ध खानेपानी आयोजनाको काम पनि सम्पन्न भएको छ ।

त्यसैगरी, देवानगन्ज–६ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको छ । २६ लाख २८ हजार ७२० रुपैयाँमा सम्झौता भएको उक्त भवनको निर्माण सम्पन्न भएपनि कम्पाउन्डवाल लगाउने काम बाँकी रहेका कारण सञ्चालनमा आएको छैन । उक्त स्वास्थ्यचौकी साउन ८ गतेदेखि सञ्चालनमा ल्याउने पालिकाको तयारी छ । ‘ठेक्काअनुरुपको काम सकिएको छ । ‘अब तला थप गर्ने प्रस्तावअनुसार काम सुरु हुनेछ र कम्पाउन्डको काम सकेर सञ्चालन गर्ने योजना छ’, प्रमुख प्रशासकीय अधिकृत गुरागाईले भने ।

स्वास्थ्यचौकीका लागि वडा नं ६ का वडाध्यक्ष देवनारायण मेहताले जग्गा प्रदान गरेका थिए । २ कठ्ठा ११ धुरमा बनाइएको यस स्वास्थ्चौकीबाट वडा नं ६ पूर्ण रूपमा लाभान्भित हुनेछन् भने ७ का केही टोलले पनि सेवा पाउने पालिकाले जनाएको छ ।

यस्तै, पालिकाले देवानगञ्ज–४ दिनाभद्री आधारभूत विद्यालयमा २ कोठे भवन निर्माण वडा नं ३ को कृष्ण माविमा ८ कोठे भवन निर्माणको काम जारी रहेको बताएको छ । त्यस्तै वडा नं ३ मोतिटापु जो १२०० मिटरको बाटो पनि कालोपत्रे गर्ने काम भइरहेको जनाएको छ भने वडा नम्बर ७ मा सडक आरसिसी ढलान सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वडा नम्बर ७ मा एक किलोमिटर सडक निर्माण भएको छ । अनुगमनमा गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक पुनीताकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाई, लेखा अधिकृत इन्द्र श्रेष्ठ, सूचना प्रविधि अधिकृत जर्नादन मेहतालगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!