२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किसनपुरस्थित सडकको काम नै नगरी बजेट भुक्तानी भएको छ । हिँड्नै नमिल्ने भइसकेको यो सडकमा यस वर्ष कागजी रूपमा श्रमदानसहित १६ लाख रुपैयाँभन्दा बढीको काम देखाएर भुक्तानी भएको हो ।

संघीय सांसद प्रमोद साहले आर्थिक वर्ष २०७७/०७८ मा किसनपुरका स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाही पुलसम्म जीर्ण सडक स्तरोन्नतिका लागि योजना राखेका थिए । योजनाअनुरूप काम गर्न संघीय सरकारको निर्वाचन क्षेत्र विकास कोषबापतको १५ लाख रकमसमेत गाउँपालिकामा आयो । गाउँपालिकाले भने योजनाअनुसारको सडक स्तरोन्नति नगरी काम सकेको भनेर प्रतिवेदन तयार गर्दै भुक्तानीसमेत दिइसकेको छ ।

संसद् विकास कोषमार्फत हुने सडकको कागजी रूपमा काम सकेर भुक्तानीसमेत दिइसकेको भन्दै स्थानीय आक्रोशित छन् । उनीहरूले योजनाअनुसार सडकमा एक ट्र्याक्टर बालुवा पनि नहालेको बताए । स्थानीय देनकुमार महतोले कामै नगरी गाउँपालिकाका अध्यक्ष र कर्मचारीहरू मिलेर बजेट सकेको आरोप लगाए । ‘सडकको अवस्था जस्ताको त्यस्तै छ, तर सांसदले दिएको १५ लाख रुपैयाँ गाउँपालिकाले सकाइसकेको छ,’ उनले भने, ‘कामै नगरी यो ठूलो रकम कहाँ गयो हामीलाई थाहा नै दिँदैनन् ।’

किसनपुरका अर्का स्थानीय जयप्रकाश सिंहले अनेकन प्रयासपछि संघीय संसद्ले यो सडक स्तरोन्नतिको योजना राखे पनि गाउँपालिकाले भने कामै नगरी बजेट सकाएको बताए । उनले चरम भ्रष्टाचार गरेको गाउँपालिकासँग लिखित माग गर्दा नदिएको र उल्टै गालीगलौज गर्दै चुप लागेर बस्न धाकधम्की दिएको आरोप लगाए । ‘कामै नगरी गाउँपालिकाले भुक्तानी दिइसकेको छ,’ उनले भने, ‘यसबारेमा गाउँपालिकाका अध्यक्षसँग बुझ्न जाँदा उल्टै धाकधम्की देखाउँदै हप्काएर पठाइदिए ।’

स्थानीय समाजसेवी राजकुमार महतोले तराई मधेसका जिल्लामा कम्तीमा आधा काम गर्ने प्रचलन रहे पनि चन्द्रनगरको यो सडकमा एक डल्ला माटो पनि नहाली भुक्तानी भइसकेको बताए । ‘कामै नभएको योजनामा कसरी इन्जिनियर र ओभरसियरले काम गरेको भनेर देखायो, यो भ्रष्टाचारको ज्वलन्त उदाहरण हो,’ उनले भने । कागजी रूपमा निर्माण सम्पन्न देखाइएको यो सडकको उपभोक्ता समितिका अध्यक्षमा स्थानीय अरुण यादव चुनिएका थिए । उनले गाउँपालिकाबाट कार्यार्देश पाएकै सडकमा काम गरेको दाबी गरे । गाउँपालिकाका इन्जिनियर राकेश यादवले संसदीय कोषबाट आएको बजेटमा योजनाअनुसारको काम भएको बताए । ‘मैले आफ्नै रेखदेखमा यो सडकको काम गराएका हौं,’ इन्जिनियर यादवले भने, ‘काम सकिएपछि भुक्तानी भएको हो ।’

चन्द्रनगर गाउँपालिका–१ किसनपुरका वडाध्यक्ष बच्चे यादवले सडकमा स्तरोन्नति नभएको भन्दै साउन ५ गते गाउँपालिकामा निवेदन दिएका थिए । निवेदनमा रकम निकासासमेत भइसकेको उल्लेख गर्दै त्यसको प्रतिलिपि माग गरेका छन् । तर अहिले उनको बोली भने फेरिएको छ । अहिले उनी त्यही सडकमा काम भएको दाबी गरिरहेका छन् । छनोट भएको योजनाको अन्तिम समयमा काम गर्न सक्ने अवस्था नदेखेपछि त्यो रकम अन्त पठाइएको गाउँपालिकाले जनाएको छ । तर कागजी रूपमा भने काम नभएकै योजनामा काम देखाइएको छ । चन्द्रनगरका प्रमुख प्रशासकीय अधिकृत अशोक साहले वर्षाका कारण योजना पूरा नहुने भएपछि सो रकम अन्य बाटोमा लगाएको जानकारी दिए । ‘सडकको स्तरोन्नति गर्नुपर्ने त्यही बाटोमा हो, तर असारको बेला सम्भव नभएर अर्को बाटोमा काम गर्नुपर्‍यो,’ उनले भने, ‘आगामी वर्षमा यो सडकको स्तरोन्नति गर्ने योजना छ ।’

गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले योजनाअनुसार सडकमा काम नभएको स्विकारे । उनले यो सडकको सट्टा स्थानीयको प्राथमिकता र चाप रहेकाले अर्को सडकमा काम भएको दाबी गरे । उनले काम सकेर इन्जिनियर, ओभरसियरले प्रतिवेदन बुझाएपछि मात्र भुक्तानी दिएको बताए । ‘कामै नभएको भने होइन, एउटा सडकमा हुनुपर्ने काम अर्को सडकमा भएछ,’ उनले भने, ‘त्यहाँ तीनवटा सडक छन्, अरू दुई सडक पनि हामी यस वर्ष स्तरोन्नतिका लागि योजनामा राखेका छौं ।’

संघीय सांसद प्रमोद साहले आफूले छनोट गरेको योजनामा काम नभएको गुनासो आएको बताए । ‘मैले छानेको योजनामा काम हुनुपर्नेमा अर्को सडकमा काम भएको छ,’ उनले भने, ‘मेरो सहमतिबिना कसरी योजना परिवर्तन भयो थाहा छैन, सम्बन्धित निकायले यसको जवाफ दिनुपर्छ ।

 

 

श्रोतः ई कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!