 
							काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषितर्फका सचिवमा गोविन्दप्रसाद शर्मा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको हो।
सचिव हुनलाई वरिष्ठता, सहसचिव भएको कम्तीमा ५ वर्ष, स्टाफ कलेजमा सिनियर एक्ज्यूकेटिभ डेभलपमेन्ट (एसइडीपी) ट्रेडिङ र कार्य सम्पादनको आधारमा सवैभन्दा धेरै नम्बर भएकाबाटै सचिव छनोट हुने प्रावधान हुन्छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले डा.निरु दाहाल पाण्डे, दीपक खराल र डा.शर्माको नाम सिफारिस गरेको थियो ।
नवनियुक्त सचिव गोविन्दप्रसाद शर्माले अब कृषि क्षेत्रमा पारदर्शिता हिसाबले काम गर्ने बताएका छन् । ‘हामीले सधैँ किसानको हक हितमा काम गर्ने हो’ उनले भने, ‘यो भन्दा अघिका दिनमा जति काम हुनु पर्ने हो भएन । के कारण काम हुन सकेन भनेर अब पहिचान गरेर किसानको हक हितमा काम गछौं ।’ साथै उनले अब पारदर्शिता तथा परिणाममूखी ढङ्गले काम गर्ने पनि बताए ।


 
										 
												 
												 
												 
												 
												 
												
 
											 
											 
											 
											 
											 
											
