२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । इलामको सूर्योदय नगरपालिकाले गुणस्तरिय चिया उत्पादन मापदण्डको पालना गर्न चिया उद्योग, संकलन केन्द्र र चिया कृषकलाई आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ मा व्यवस्था भए अनुसार कार्यान्वयन नभएको भन्ने गुनासो आएपछि नगरप्रमुख रण बहादुर राई नेतृत्वको टोलीले अनुगमन गरेको जनाएको छ ।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँ र चिया कफी विकास बोर्डका प्रतिनिधिहरूले चियो उद्योग र संकलन केन्द्रमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएको नगरपालिकाले जनाएको छ ।

केही दिनयता इलाममा चिया विवाद चर्केको छ । साउनको दोस्रो सातादेखिको हरियो पत्तीको मूल्य कतिपय उद्योगहरूले घटाएसँगै चियामा समस्या देखिन थालेको हो ।पहिलो टिपाइ (फस्ट फ्लस) को चियादेखि साउनको पहिलो सातासम्म यहाँका उद्योगले किसानलाई प्रतिकिलो ४० देखि ४५ रुपियाँका दरले मूल्य दिइरहेका थिए । साउन दोस्रो सातादेखि भने उद्योगहरूले किसानलाई आधा नै कम अर्थात् प्रतिकिलो २० देखि ३० रुपियाँ दिन थालेपछि पुनः चियाको चर्चा बढेको हो ।

सूर्योदय नगरपालिकाले तीन वर्षअघिदेखि हरियो चिया पत्तीको न्यूनतम मूल्य ४० रुपियाँ निर्धारण गरेर कार्यान्वयनमा ल्याएको थियो । यो उद्योगीहरूले आफू खुसी चियाको मुना हेरेर प्रतिकिलो २० र ३० रुपियाँ निर्धारण गरेपछि गुणस्तरीय पत्ती उत्पादन गर्ने किसान मर्कामा परेका छन् ।

यसैलाई मध्यनजर गर्दै नगरपालिकाले कार्यविधिमा ४० प्रतिशत मुना भएको चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ हुनुपर्ने उल्लेख भए अनुसार नै मापदण्ड पालना गर्न आग्रह गरेको हो । यता सूर्योदय नगरपालिकाभित्र रहेका धेरैजसो उद्योगले कार्यविधिमा भएको व्यवस्था अर्थात् ४० प्रतिशत मुना नभएपछि गुणस्तरहीन पत्तीको मूल्य घटाउन बाध्य भएको उद्योगीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!