२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नवलपरासी । नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेपछि मानसिंह गुरौ यतिबेला चिन्तित बनेका छन् । गोडमेल गरेर मलजल हालेपछि धान सप्रिनुपर्नेमा झनै पात सबै सुकेर मर्न लागेको उनको भनाइ छ ।

यस वर्ष समयमै पानी पर्दा रोपाईँ पनि समयमै भएकाले किसानले धान खेती राम्रो हुने आशा गरेका थिए तर, धानमा बाला लाग्ने बेला हुन लाग्दा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक क्षेत्र कावासोती–१७ र गैँडाकोटका वडा नं ११ र १२ मा पनि रोग देखिएको छ।

किसानको गुनासो आएपछि कृषि ज्ञान केन्द्रले अनुगमन गरेको छ। धान ब्लक सञ्चालन गरिएको कावासोती र गैँडाकोटमा अनुगमन गरिएको हो। जिल्लाका आठवटै स्थानीय तहबाट धानमा रोग देखिएको गुनासो आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछाने बताउँछन् ।

क्रमशः सबै स्थानीय तहमा अनुगमन गर्ने योजना रहेको उनले जानकारी दिए। कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासु रेग्मी, प्रभनमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख विष्णुप्रसाद शर्मा समेतको सहभागितामा केही दिनअघि अनुगमन गरिएको हो ।

ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीका अनुसार धानमा ब्याक्टेरीयल, ढुसीजन्य रोग र गबारो देखिएको छ। सबैभन्दा बढी खाद्य तत्वको कमी पाइएको छ। धान बालीमा पानी बढी हुँदा ब्याक्टेरीयल र ढुसीजन्य रोग देखिने उनको भनाइ छ । खाद्य तत्वको कमीले पनि पात रातो हुने, बाली सुक्ने उनले बताए। किसानले खाद्य तत्वको कमी भएको भन्ने थाहा नपाउँदा खेतीमा नोक्सान पुग्ने गरेको उनले जानकारी दिए।

चौधरीका अनुसार अधिकाशं किसानले धानमा डिएपी र युरिया मल राख्ने तर पोटासको प्रयोग गर्दैनन्। ‘पोटासको कमीले पनि धानबाली सप्रिदैन्। अर्को, किसानले धेरै वर्षसम्म एउटै जातको धानबाली लगाउँदासमेत यस्तो समस्या देखिएको हो,’ उनले भने, ‘एउटा जातको बाली बढीमा चार वर्षसम्म प्रयोग गरेपछि फेर्नुपर्छ ।’

त्यस्तै अर्को कारण भनेको प्रयाप्त मात्रामा गोबर मल वा अर्गानिक मलको प्रयोग नगर्ने, रसायनिक मलको बढी प्रयोग गर्दा पनि यस्तो समस्या देखिएको चौधरीको भनाइ छ । अनुगमनका क्रममा किसानलाई धानमा देखिएको समस्याको समाधानका बारेमा समेत जानकारी थियो । जिल्लाका धेरै किसानले सावित्री, हर्दिनाथ, वारलगायतका जातका धान लगाएका छन् ।

प्रदेशको सबैभन्दा बढी धानखेती हुने जिल्ला भनेको नवलपरासी पूर्व भएका कारण यहाँ धान ब्लक कार्यक्रम सञ्चालन गरिएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख रेग्मीले बताए । धानमा विभिन्न खाले समस्या देखिएपछि कार्यक्रमसमेत प्रभावित हुने भएकाले आफूसमेत किसानको समस्या बुझ्न र समाधान कसरी गर्न सकिन्छ भनेर अनुगमनमा आएको उनको दाबी छ ।

धान ब्लक कार्यक्रममार्फत खेतीको क्षेत्रफल विस्तार गर्दै उत्पादनमा वृद्धि गर्ने, धानको बीउसमेत किसान आफैँले उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएकाले रोग किरालगायतका समस्याले किसान पनि मर्कामा पर्ने र कार्यक्रमसमेत प्रभावित हुने उनी बताउँछन् । ब्लक कार्यक्रमअन्तर्गत किसानलाई कुलो, नहरलगायतका पूर्वाधार निर्माण, यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान गर्ने गरेको उनको भनाइ छ।

रासस

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!