२०७८ कार्तिक ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी नै एकीकृत कम्युनिष्ट पार्टी भएकाले नेता माधवकुमार नेपालसहित नेताहरुलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ ।

एमाले काठमाडौंद्वारा विहीबार यहाँ आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेको हो । कम्युनिष्ट पार्टीको सरकार ढालेर काँग्रेस नेतृत्वको सरकार बनाएर देश समृद्ध बन्नै नसक्ने उहाँले दावी गरे । एमाले सरकारबाट बाहिरिए पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियान जारी रहेको चर्चा गरे ।

एमालेमा माधवकुमार नेपाल रहुन्जेल पार्टीभित्र गुटबन्दीमात्र बढेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले अब पार्टी गुटविहीन भएको दावी गरे । अलोकतान्त्रिक शक्तिहरुलाई जोडेर नेता नेपालले एमालेविरुद्ध षडयन्त्र गरेको उनले आरोप लगाए । आफ्नो स्वार्थकालागि नेता नेपालले पार्टीको जीवनसँग खेलवाड गर्नुभएको उहाँले बताए। व्यक्तिगत स्वार्थका लागि अरुको भविष्यसँग खेलवाड गर्ने काम नेता नेपालले गरेको उनले टिप्पणी गरे ।

गठबन्धन सरकारले देशको विकास सम्भव नरहेकाले कम्युनिष्ट एकताको सरकारले मात्र देशलाई आर्थिकरुपले समृद्ध बनाउन सक्ने बताए । नेता नेपालले आवेगमा आएर बाटो विराए पनि गल्ती सच्याएर पार्टीमा फर्किए सम्मान गर्ने उनले चर्चा गरे । बजेटमा समस्या एमालेका कारण नभई गठबन्धनका कारण समस्यामा आएको उनले बताए । आगामी निर्वाचनबाट एमाले पुनः शक्तिशाली भएर आउने र सरकार बनाउने उहाँले दावी गरे ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हामीसित नीति, सिद्धान्त र विचार भएकाले एमालेलाई राम्रो बनाउन सक्छौं भने । पार्टीमा केही समस्या देखिएकाले निर्ममढङ्गले समीक्षा गरेर अघि बढ्न आवश्यक रहेको बताए । जनताले विश्वास गरेर जनमत दिएपनि त्यसको सही सदुपयोग गर्न नसक्नु कम्युनिष्ट दलको कमजोरी भएको उनले बताए । नेतादेखि कार्यकर्तातहसम्म सोच, विचार र व्यवहारमा रुपान्तरण आवश्यक रहेको उनले सुझाव दिए ।

नेता माधवकुमार नेपालले लिएको बाटो सही नभएको उनले बताए । यो बेला फुटको होइन, जुटको राजनीति आवश्यक रहेको चर्चा गर्दै उपाध्यक्ष शाक्यले भने, “आफूले त्याग गरेर, जीवन दिएको पार्टीलाई लत्याएर नयाँ पार्टी खोल्नु सही हुँदै होइन, आउनुस् फर्केर सँगसँगै अघि बढौं ।”

महासचिव ईश्वर पोखरेलले विचारमा थप व्यवस्थित भएर अघि बढ्नुको विकल्प नरहेको बताए । बुझाईमा एकरुपता कायम गरेर अघी बढ्दै एमालेलाई नयाँ उचाईमा पु(याउनमा लाग्न उहाँले पार्टी पङ्तिलाई आव्हान गरे । भीडकोरुपमा रुपान्तरण होइन, शक्तिमा रुपान्तरित हुन आवश्यक रहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले यसअघि पार्टी अस्तव्यस्ततामा फँसे पनि अब पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अघि बढ्नुपर्छ भने ।

योग्यहरु मध्येबाट योग्यतमको छनोट गरेर नेतृत्वमा पु(याउन आवश्यक रहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले भने, “पार्टी भित्रको एकतालाई सुदृढ गर्नमा ध्यान दिन अनिवार्य छ, यो शब्दमा मात्र प्रिय बोलेर हुँदैन, व्यवहार र काममा नै पुष्टि गर्नुपर्छ ।” एमाले जेठ २ गतेको एमालेमात्र नभएर, एकता प्रक्रियासहित विकसित एमाले हो भनेर बुझ्न आवश्यक रहेको उनले बताए ।

पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापाले कम्युनिष्ट एकताको अभियान एमालेले अघि बढाएको भए पनि केही समस्या आएको बताउनुभयो । गणतान्त्रिक आन्दोलन सफलतामा पुगे पनि कम्युनिष्ट एकताको काम अझै बाँकी रहेको उनले चर्चा गरे । पश्चगमन र प्रतिक्रान्तिकारीलाई अपदस्त गरेर आफूहरु अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!