काठमाडौं । कारोबारको दोस्रो दिन सोमबार शेयर मापन नेप्से परिसूचक ११४ अंकले घटेको छ। शेयर बजारमा उतारचढाव हुँदा नेप्से घटेर २६ सय ९८.०२ अंकमा झरेको हो। यस दिन २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँमा कारोबार भए।
यसअघि साताको अन्तिम कारोबार दिन गत बिहीबार २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ मूल्यमा खरिदबिक्री भएको थियो। सो दिन नेप्से परिसूचक ७६.६५ अंकले घटे पनि कारोबार रकम भने बढेको थियो।
यस्तै, आज ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ इन्डेक्स पनि १९.५१ अंकले घटेर ५०६.२७ अंकमा अडेको छ। कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ। जीवन विमाको परिसूचक सर्वाधिक ८००.०६ अंकले घटेको छ। निर्जीव विमाको ६१४.२१ अंक, विकास बैंकको ३३२.३८, जलविद्युतको २२०.२९, होटल एन्ड टुरिजमको १५८.१३, व्यापारको १५६.९८, साना लघुवित्तको १६२.३२, बैंकिङको ५१.४५ अंकले घटेको हो। बाँकी अन्य समूहको परिसूचक पनि ओरालो लागेको छ।
यस दिन एउटा कम्पनीको मात्र १० प्रतिशतले शेयर मूल्य बढेको छ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले शेयर मूल्य बढेको हो। सात कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। घलेम्दी हाइड्रोपावर, गुडविल फाइनान्स, युनाइडेट इटी मार्दी, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी, हिमालयन उर्जा,पोखरा फाइनान्सको शेयरमूल्य १० प्रतिशतले नकारात्मक सर्किट लागेको हो।
सबै समूहको परिसूचक ओरालो लागेको शेयर बजारमा कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रह्यो। यस दिन सो कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४३६ मूल्यको शेयर खरिदबिक्री भयो।




