२०७८ कार्तिक ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डुमरलाल मेहता ।
सुनसरी लगायत मिथिलाञ्चल क्षेत्रमा ‘नहा, खा’ (नुहाएर खानु) गर्दै सोमबारदेखि धार्मिक विधिअनुसार जितिया पव सुरु भएको छ । सन्तानको दीर्घायुको कामनाका साथ मनाइने जितिया पर्व रहेको व्रतालु महिलाहरु बताए ।
व्रत बस्नुअघि आश्विन कृष्णसप्तमी तिथिका दिन बिहान व्रतालुहरुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, शख्खर र तोरीको तेल जिमुतवाहन देवतालाई चढाइ पूजापाठ गरेका छन् । चढाएको तेल सन्तानलाई टाउकोमा लगाइदिनाले रोगव्याधि नलाग्ने तथा दीर्घायु हुने धार्मिक विश्वास रहेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको कार्य बाहक अध्यक्ष पुनम मेहताले बताए ।
व्रतको पहिलो दिन सोमबार महिलाहरुले घिरौलाको पातमा भगवान् जिमुतवाहन र दिंवगत पितृलाई प्रसाद चढाइ चिउरा, दही र अमोट खाएका छन् । व्रतालु महिलाले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खान्छन्, जसलाई स्थानीय भाषामा माछ मरुवा (कोदो) भनिन्छ । एकल महिला र ब्रत बसेका महिलाहरुले भने कोदोको रोटी, साग, फलफूल खाएका छन् ।
मैथिल र थारु समुदायका महिलाहरूले सन्तानको दीर्घायुका लागि मनाउने यो पर्व यस वर्ष मंगलबार विहान ३ बजेदेखि विधिवत रुपमा उपवासमा बसेपछि शुभारम्भ हुँदैछ । आश्विन कृष्ण अष्टमी तिथि मंगलबार विहान ३ बजेदेखि सुरु भएको र बुधबार बेलुका ५ः२० बजे समाप्त भई पारायण गरी प्रसाद ग्रहण गरेपछि मात्र सम्पन्न हुने ज्ञाता रेडियो नागरिकको फुलडाली कार्यक्रम प्रस्तोता प्रेम झाले बताए । उनका अनुसार यस वर्ष बिहान महिलाहरुले खाने अंगुठन नरहेकोले यस वर्ष जितियाको अंगुठन नखाइने भएको छ ।
अष्टमी तिथि लाग्नुभन्दा पहिले नै व्रतालु महिलाले भोजन गरिसक्नुपर्ने हुन्छ । त्यसपछि, पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथि अर्थात बुधबार बेलुका ५ बजेर २० मिनेटमा मात्र पारायणको प्रसाद ग्रहण गरी भोजन गर्न पाउँछन् । तिथिको समयको हेरफेरका कारण ओटघनको मंगलबार बिहान (खानेकुरा ओठमा लगाउने विधि) साइत रहेको यस वर्ष व्रतीहरुलाई ३६ घण्टाको उपबास बस्नुपर्नै झाले बताए ।
पूजा गर्नाले आफ्नो पुत्रको आयु वृद्धि हुने जनविश्वासका कारण जितिया पर्व मनाउँदै आएको हरिनगर गाउँपालिका ३ गौतमपुरको सन्जु मेहताले बताए । व्रतालुहरुले पितृपक्ष परेकाले दिवङ्गत सासू, आमाको नाममा आत्माको शान्तिका लागि उनीहरूको नाममा सधवा महिलालाई निम्तो दिई भोजन गराएका छन् । भोजन गर्ने महिलालाई पितराइन भन्ने गरिन्छ ।
व्रतालुहरुले मङ्गलबार नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ अर्पण गरी व्रतको सङ्कल्प गरेर घरमा आई डाली भर्छन् । डालीमा बाँसको पात, ओखरी (फुलाएको केराउ, मुंग) नरिवल, काँक्रा, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिला भेला भएर जितवाहन व्रतको महत्व, पर्वको शुभारम्भका बारेमा महिलाले कथावाचन गर्छिन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् । जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरुमा जितिया प्रतिमा राखेर पूजाआजासँगै विभिन्न सांस्कृतिक कार्यक्रहहरु समेत गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!