२०७८ मंसिर २३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

राजविराज, १७ कात्तिक । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरुप नगरपालिका–४ का दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ ।

सो जङ्गली अर्नाको समूहले जिल्लाको कञ्चनरुप नगरपालिका–४ मा किसानले सयौं बिघामा लगाएको धानबाली नष्ट गरेको स्थानीयवासी किशोर पासवानले जानकारी दिए ।

दैनिक १०-१५ वटा सङ्ख्यामा आउने गरेको अर्नाको समूहले स्थानीय छुतहर पासवानको पाँच कठ्ठा, चेत नारायण चौधरीको दुई कठ्ठा, मुसहरु पासवानको पाँच कठ्ठा, प्रभुलाल पासवानको पाँच कठ्ठा, रामगुलाम पासवानको तीन कठ्ठा खेतमा लगाइएको धानबाली कुल्चिएर नष्ट गरेको पासवानको भनाइ छ ।

त्यस्तै रामअवतार पासवानको तीन कठ्ठा, मुन्नादेवी पासवानको दुई कठ्ठा, श्रीलाल पासवानको दुई कठ्ठा, रामप्रसाद मण्डलको चार कठ्ठा गरी दर्जनौं किसानले लगाएको धानबालीमा समेत जङ्गली अर्नाको समूहले खाएर क्षति गरेको पीडित किसानले बताएका छन्  ।

यसरी कडा मिहेनत र परिश्रम गरेर लगाइएको धानबालीमा हात्तीले आएर क्षति पु¥याएपछि किसान चिन्तित भएको स्थानीयवासीको भनाइ छ । केही दिनयता सो क्षेत्रमा दैनिक कोसी टप्पु वन्यजन्तु आरक्षबाट अर्ना आएर आतङ्क मच्चाउँदा पनि स्थानीय प्रशासन मौन रहेको स्थानीयवासीले आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् ।

पुल नबन्दा आवागमनमा समस्या

दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो ।

यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल र सडकको लगभग १५ मिटर भाग नै बगाएको छ । जीर्ण भइसकेको पुलबाट जोखिम मोलेर आवतजावत गरिरहँदा अहिले पुलसहित बाटो समयमा नबनाइएका कारण पैदलयात्रुलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ ।

अहिले पानी सुकिसकेको भएपनि सडक विभागले कुनै चासो नदिँदा आवागमन ठप्पै रहेको स्थानीयवासी नीरज झाले बताए । तिलाठी कोइलाडी गाउँपालिकाको बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात पूर्ण रुपले ठप्प हुनुका साथै पैदल आवतजावत गर्नेलाई निकै समस्या भइरहेको उनले बताए ।

बाटो अवरुद्ध भएपछि पाँच÷छ किलोमिटरको दूरीमा रहेको हनुमाननगर बजार जानका लागि वैकल्पिक मार्गका रुपमा राजविराज हुँदै २५ किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको अटो रिक्सा चालक रामसागर साहले गुनासो गरे ।

यता स्थानीयवासीले भत्केको पुल र सडक चाँडो निर्माण गरेर आवागमन सूचारु गरी सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

माटोको भाँडा किन्नेको घुइँचो

लक्ष्मी पूजा अर्थात दिपावली पर्वको अवसर पारेर राजविराजको हटिया बजारमा  माटोको दियोसहितको सरसामान किन्नेको घुइँचो लागेको छ । हिजोआज बजारमा माटोको भाँडादेखि लक्ष्मी पूजाका लागि  विभिन्न सरसामान किन्नेको चहलपहल बढेको देखिन्छ ।

माटोको भाँडा खासगरी कुमाल जातिले बनाउने गर्छन्, माटोको मूर्ति, पाला, अति नै शुद्ध हुने भएकाले यसको बिक्रीबितरणमा वृद्धि भएको हनुमाननगरका कुमाल रामकुमार पण्डितले बताए । प्रायःजसो पूजापाठमा माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले  माटोको भाँडो लक्ष्मी पूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढ्ने गरेको उनले बताए ।

चाडपर्व नजिकिँदै गर्दा ठाउँठाउँमा माटोको भाँडा, फलफुल, विभिन्न मूर्ति र माटोको भाँडामा ढकनी, दीप, घैँलोलगायतका खरिदबिक्री भइरहेको व्यापारी बताउँछन् । जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइनलगायतका विभिन्न ग्रामीण बजारमा पनि  सुनदेखि नूनसम्मको सामान किनमेल भइरहेका छन् । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!