२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

चितवन । रत्ननगरस्थित बुढीराप्ती खोला नजिकै एउटा गोठमा टनाटन भैंसी बाँधिएका छन्। आडैको सानो गोठमा पाडापाडी मात्रै छन्। एक दम्पती तिनको स्याहारमा व्यस्त देखिए।

उनीहरू साइराम पशुपालन फर्मका सञ्चालक दम्पती रामचन्द्र धिताल र सुमित्रा रेग्मी हुन्।

उनीहरूको फर्ममा अहिले १५ वटा दुहुना भैंसी, २ वटा दुहुना गाई, तिनका बाछाबाछी र पाडापाडीहरू छन्। सबै भैंसी र गाईले दैनिक १२० लिटर दूध दिने गरेको रामचन्द्रले बताए।

यो दम्पतीले पशुपालनमार्फत दैनिक १० हजार रूपैयाँ आम्दानी गर्दै आएको छ।

‘दूध बोकेर बेच्न जानुपर्ने झन्झट छैन। किन्नेहरू घरमै आइपुग्छन्। प्रतिलिटर ९० रूपैयाँमा लैजान्छन्,’ रामचन्द्रले भने, ‘महिनाको ३ लाख रूपैयाँ आम्दानी हुन्छ। मासिक एक लाख रूपैयाँभन्दा धेरै जोगाउन सकिएको छ।’

रामचन्द्रले सुरूदेखि नै पशुपालन गर्ने योजना बनाएका थिएनन्। उनी भारतको हरिद्वार र बनारसमा बसेर पढ्थे। संस्कृत व्याकरणमा स्नातकोत्तर गर्दागर्दै रामचन्द्र फर्किए। आएपछि पढाइअनुसारकै केही काम गर्ने योजना थियो।

उनी आफ्ना बुबाको जोडमा संस्कृत पढ्न भारत पुगेका थिए। बिस्तारै संस्कृत भाषामा उनको पनि मोह बढेको थियो। तर नेपाल फर्किएपछि उनले संस्कृत भाषाको भविष्य राम्रो देखेनन्। संस्कृत भाषालाई मान्छेले त्याग्दै गएको महसुस गरे। भरतपुरको आस्था चोकस्थित घरमै पालिएका भैंसीहरूको स्याहारमा समय बिताउन थाले।

परिवारका सदस्यहरूलाई दूध खुवाउन पालिएका भैंसीको स्याहार गर्दागर्दा उनमा व्यावसायिक रूपमै भैंसीपालनको सोच पलायो।

‘दूध मीठो हुन्छ। यसबाट कमाइ पनि राम्रो हुन्छ। तर गोबरको गन्ध सहन सक्नुपर्ने रहेछ। यति कुरा जानेपछि मैले व्यावसायिक फर्म दर्ता गरेर भैंसीको संख्या बढाउने निधो गरेँ,’ उनले बताए।

व्यावसायिक भैंसीपालन गर्न भरतपुरको जमिन साँघुरो भयो। रत्ननगर–३ हाजीपुरस्थित बुढीराप्ती खोला नजिकै आफ्नै दस कट्ठा जमिन थियो। उनले यसमै जोडिएका जमिन भाडामा लिएर काम थाले। करिब तीन बिघा जमिन भाडामा लिएर घाँस लगाए। व्यवस्थित गोठ बनाएर भैंसीहरू थपे। व्यवस्थित फर्म सञ्चालन गर्न उनले २०७२ सालमा करिब ३० लाख रूपैयाँ लगानी गरेका थिए।

भैंसी पाल्न थालेको केही समयपछि उनले दाना खुवाउन छाडे। भाडामा लिएको जमिनमा दानाभन्दा पोषिलो घाँस तयार भएको थियो। यसले उनको खर्च घटायो, दूधको उत्पादन बढायो।

उनको यो कदमले उनको आम्दानी पनि बढायो।

यो काममा रामचन्द्रकी श्रीमती सुमित्राले उत्तिकै सघाउँछिन्। पशुपालन अझै बढाउने सोचमा छन् उनीहरू।

४० वर्षे रामचन्द्रका दुई छोरी र एक छोरा छन्। आफ्नो र छोराछोरीको सुन्दर भविष्य निर्माणका लागि दिनरात मेहनत गरिरहेको उनीहरू बताउँछन्।

‘मसँग विदेशमा गएर काम गर्ने विकल्प छँदै थियो। तर मैले त्यो रोजिनँ। मेले यहाँ केही गर्दा युवाहरूका लागि प्रेरणा बन्न सक्यो भने राम्रो हुन्छ भन्ने लाग्यो,ु उनले भने, ‘म आफ्नो पढाइलाई नै त्यागेर पशुपालनमा लागेँ। श्रीमान–श्रीमतीको आँट र कामले व्यवसाय यो स्तरमा पुगेको छ।’

खाडी मुलुकमा काम गर्नेलाई मासिक ४०–५० हजार रूपैयाँ कमाउन पनि दुःख भइरहेको समयमा आफूले परिवारसँगै बसेर मासिक एक लाख रूपैयाँ बढी जोगाउन सकेकोमा गर्व गर्छन् उनी।

उनले व्यवसायका लागि अहिलेसम्म राज्यबाट अनुदान लिएका छैनन्। लिने सोचमा पनि छैनन्। तर देशलाई दूधमा आत्मनिर्भर बनाउन लागिपरेका पशुपालक किसानका लागि राज्यले उन्नत जातका भैंसीहरू उपलब्ध गराइदिनुपर्ने उनी बताउँछन्।

“बिहारको छेउछाउबाट छानेर पठाइएका भैंसी नेपाल ल्याइन्छ। राम्रा भैंसी आफूले राखेर नराम्रा नेपाल पठाउने चलन छ। हामी यसैलाई उन्नत जातको भैंसी भन्ने गर्छौं,’ उनले भने, ‘किसानको हित चाहने हो भने राज्यले उन्नत जातका भैंसीहरू उपलब्ध गराइदिनु पर्छ।”

उनले भैंसी किन्ने क्रममा धेरै किसानहरू ठगिएको बताए।

श्रीमती सुमित्रा रेग्मीले कृषि प्रधान देश भन्ने गरिए पनि नेपालमा किसानलाई राम्रो नजरले नहेर्ने गुनासो गरिन्।

सरकारले पनि कृषि क्षेत्रलाई बेवास्ता गरेको उनको भनाइ छ।

‘तैपनि आफ्नै जोडबलमा यति गर्न सकेका छौं,’ सुमित्राले भनिन्, खुसी छौं। श्रोत: Setopati

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!