२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट निर्वाचन लड्न पाउँदा गर्व लागेको बताएका छन् । आइतबार उमेदवारी दर्तापछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले परिचित ठाउँ र परिचित जनताकोबीचमा आउँदा खुसी लागेको बताएका हुन् ।

‘पहिलो चुनाव रोल्पाबाट लडेँ, काठमाडौं, सिराहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको छु’ उनले भने,‘यसरी देशको पूर्व, पश्चिम मधेस पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ, अहिले गोरखा आएपछि नयाँ रेकड बन्यो भन्ने लागेको छ ।’

गठबन्धनबाट सुमधुर सम्बन्धकासाथ निर्वाचनमा गएको उनले बताए । जनयुद्ध हुँदै गणतन्त्रको आन्दोलनअघि बढाएर युगान्तकारी परिवर्तन आएको भन्दै दाहालले अब आर्थिक विकास र समृद्धिको क्रान्ति पनि एकताबद्ध भएर गर्ने बताए । ‘आर्थिक समृद्धिको रोडम्याप गोरखाबाट कोर्नुपर्छ, यहि सन्देश दिनुपर्ने भन्ने प्रतिवद्धताका साथ उभिएका छौं,’ उनले भने ।

गोरखा आफ्ना लागि ऐतिहासिक जिल्ला भएको र यहाँ आउदा कता आएँ भन्ने नलागेको दाहालले बताए । ‘यहाँ बसेर युवा अवस्थामा अध्यापन गरेको जिल्ला हो, जनयुद्धको तयारी पनि यहिँबाट भयो, जनयुद्धको पहिलो सैनिक तालिम पनि सिरानचोकमा लिएको हो,’ उनले भने,‘बाबुरामजी यहिँबाट जितेको अर्थमन्त्री बन्नुभयो, पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घर पनि यहि हो, हरेक दृष्टिकोणले गोरखा मेरा लागि ऐतिहासिक जिल्ला हो, यहाँ आउँदा कता आएँ भन्ने लागेको छैन ।’ समृद्धिको नयाँ यात्रा पनि अब गोरखाबाट सुरु गर्ने प्रतिबद्धता रहेको दाहालले बताए । ‘कस्तो दिन पनि बेहोर्‍यौ, यस्तो दिन पनि आउँदो रहेछ,’ उनल भने,‘बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ नेपाली कांग्रेस एउटै ठाउँमा उभिएका छौं, समृद्धिको प्रतिबद्धता सहित ।’

पार्टी उपाध्यक्ष श्रेष्ठलाई समर्थक र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराइलाई प्रस्तावक राखेर दाहालले उम्मेदवारी दर्ता गरे । श्रेष्ठ र भट्टराइसँगै दाहाल उम्मेदवारी दर्ताका लागि गोरखा निर्वाचन क्षेत्र नम्वर २ को कार्यालय पुगेका थिए । त्यस्तै गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्वर २ को ‘क’ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र सोहि क्षेत्रको ‘ख’ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उमेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!