२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन् । राज्यका सबै निकायमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने माग गरिँदै आए पनि यस पटकको निर्वाचनमा समेत दलहरूले महिलालाई पत्याएनन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिला नेतृत्वप्रतिको दलहरूको अविश्वास, तालमेल र गठबन्धनका नाममा महिलालाई उम्मेदवार हुनबाट वञ्चित तुल्याइएको छ ।

यसले गर्दा नीति निर्माण तहमा प्रत्यक्षबाट विजयी हुने महिलाको सहभागिता खासै नहुने प्रस्ट भएको छ । दुवै सभाका निर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूले महिलालाई न्यून मात्र टिकट दिएर उम्मेदवार बनाएका छन् । महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित पूरा गर्न अब समानुपातिककै भर पर्नुपर्नेछ ।

एकातिर पार्टीहरूले महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन् भने निर्वाचन अति खर्चिलो भएका कारण महिलाले आफूहरूलाई समानुपातिकमै सुरक्षित महसुस गरेर त्यसैका लागि बढी दौडधुप गरेका पनि छन् । यस पटकको निर्वाचनमा जम्मा ५२९ महिलाले उम्मेदवारी मनोनयन गराएका छन् । सोमबारसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्कअनुसार प्रतिनिधि सभामा २३३ महिलाको उम्मेदवारी मनोनयन भएको छ भने प्रदेश सभाका लागि २९६ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

पार्टीगत रूपमा हेर्दा प्रतिनिधि सभाका लागि सबैभन्दा बढी नेपाल कम्युनिस्ट पार्टी ९एमाले०बाट ११ महिलाको उम्मेदवारी परेको छ भने नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०बाट सात जना महिलाले उम्मेदवारी मनोनयन गराएका छन्। नेपाली कांग्रेसका जम्मा पाँच जना, एकीकृत समाजवादीबाट एक र राष्ट्रिय जनमोर्चाबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभाका लागि उम्मेदवारी दिने अवसर पाएका महिलामा पनि सबैजसो राजनीतिक दलबाट पुरानै अनुहार दोहोरिएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार हुने अवसर पाउनेमा सुजाता कोइराला, चित्रलेखा यादव, पुष्पा भुसाल, सीता गुरुङ र महालक्ष्मी उपाध्याय डिना हुनुहुन्छ।

त्यस्तै सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रबाट पम्फा भुसाल, बीना मगर, ओनसरी घर्तीमगर, रेखा शर्मा, कल्पना धमला, गोमाकुमारी कुँवर र मानुषी यमी भट्टराईले उम्मेदवार बन्ने अवसर पाउनुभएको छ । यो पार्टीबाट भट्टराई नयाँ अनुहार हुनुहुन्छ।

एमालेका महिला उम्मेदवारमा पनि अधिकांश पुरानै अनुहार छन् । यो पार्टीबाट पद्मा अर्याल, भगवती चौधरी, विद्या भट्टराई, कोमल वली, नीरुदेवी पाल र गौरी वलीले उम्मेदवारी दिनुभएको छ। त्यस्तै जुलीकुमारी महतो, ज्वालाकुमारी शाह, मञ्जु शर्मा चालिसे, मञ्जु चौधरी र शान्ता चौधरी पनि उम्मेदवार हुनुभएको छ। त्यस्तै एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीले मात्र अवसर पाउनुभएको छ भने जनमोर्चाबाट दुर्गा पौडेलले अवसर पाउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!