२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी क्षेत्र नं। ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा ९एमाले०को तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ (२)का उम्मेदवार हुकुमबहादुर बस्नेत तथा प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिह्नअंकित पम्प्लेट लिई वितरण गर्न हिडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएको, तथा नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्यदृश्य सामग्री समेत संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको उल्लेख छ ।

 

स्पष्टीकरण पत्रमा ठाकुर र नेपाललाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आ–आफ्नो जिल्ला निर्वाचन कार्यलयमा प्राप्त हुनेगरी स्पष्टीकरण जवाफ पेश गर्न निर्देशन दिएको छ । बस्नेतलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यलय दाङमा प्राप्त हुनेगरी जवाफ पेस गर्न निर्देशन दिइएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट)लाई उल्लेख गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ । तपाईंले बालबालिकाहरू जम्मा गरी आफ्नो निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको देखिन्छ ।”

पत्रमा उम्मेदवारले निम्नानुसारका प्रश्नहरूको जवाफ दिनुपर्ने उल्लेख गरिएको छ ।

(क) तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होईन भन्ने आधार, प्रमाण के छ ?

(ख) निर्वाचनका प्रक्रियाहरु अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भै सकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?

(ग) निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!