२०८२ आश्विन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ जेठ : मुख्यमन्त्री कार्यालयबाट सञ्चालित रेडियो कार्यक्रमको भविष्य अन्योलमा परेपछि पत्रकार महासंघ काेशी प्रदेश र रेडियो क्षेत्रका छाता संस्थाहरूले संयुक्त रूपमा कार्यक्रमको निरन्तरताको माग गरेका छन्।

सोमबार प्रदेश राजधानी विराटनगरमा नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समिति, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) कोशी र सामुदायिक रेडियो प्रसारक संघ, कोशी प्रदेशका प्रतिनिधिहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रमुख सचिव चन्द्रकला पौडेललाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका हुन्।

ध्यानाकर्षणपत्रमा एफएम रेडियोहरूलाई सार्वजनिक सूचना मार्फत सूचिकृत हुन आह्वान गरिएको र त्यसअनुसार रेडियोहरू सूचीकृत भए पनि अहिलेसम्म प्रसारण सम्झौता हुन नसकेको विषय उठाइएको छ। “सूचिकृत भइसकेका रेडियोसँग प्रसारण सम्झौता नगर्नु निष्पक्षताको सिद्धान्त विपरीत भएको महसुस गरेका छौं,” पत्रमा भनिएको छ।

नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल कोशी प्रदेशका उपाध्यक्ष अरविन्द मेहता र समुदायिक रेडियो प्रसारक संघ कोशीका अध्यक्ष टेकबहादुर खड्काद्धारा हस्ताक्षरित पत्रमा सूचिकृत सम्पूर्ण मिडियाहरूसँग पारदर्शी प्रक्रिया अपनाउँदै शीघ्र प्रसारण सम्झौता गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ।

पत्रमार्फत आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमको बजेट वृद्धि गरी नियमितता सुनिश्चित गर्नसमेत माग गरिएको छ।

गत वर्ष ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमलाई परिमार्जन गरी ‘जनतासँग प्रदेश सरकार’ भनेर सञ्चालन गरिएको हाे । यस कार्यक्रमले प्रदेश सरकार र जनताबीचको संवाद सुदृढ बनाउने माध्यमको रूपमा प्रभावकारी भूमिका खेलेको सरोकारवालाहरूको धारणा छ।

उक्त रेडियो कार्यक्रमले प्रदेश सरकारले गरेका काम, योजना तथा नीतिहरूको जानकारी जनतालाई सहज तरिकाले पुर्‍याउने माध्यमका रूपमा स्थापित भएको जनाउँदै, यसको स्थायित्वका लागि प्रदेश सरकार जिम्मेवार बन्नुपर्ने माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!